फर्जी शिक्षक नियुक्ती गरेका हेडसर प्रशासनमा हाजिर

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा

जिल्ला प्रशासन कार्यालय पर्साकोको विभिन्न पत्र र निर्देशनलाई अटेर गर्दै आएका वीरगंज महानगरपालिका–३ प्रगतिनगरस्थित महानगर आधारभूत विद्यालयका पूर्वप्रधानाध्यपक उमेश ठाकुर बुधवार प्रशासनमा उपस्थित भएका छन। लाखौं रकम लिएर ९ जना शिक्षक नियुक्ति गरेका हेडसरलाई जिल्ला प्रशासनले यथाशीघ्र उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयको नाममा असार १ गते पत्राचार गरेको थियो। एक वर्षअघि पूर्व मेयर विजय सरावगीको पालामा ठाकुरले महानगर आधारभूत विद्यालयमा छ जना शिक्षक र तीन जना बाल विकास गरी ९ जनाको फर्जी नियुक्ति गरेको भेटिएको छ। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले दरबन्दी दिने मौखिम आश्वासन दिएपछि ठाकुरले एक जनासँग दुईदेखि तीन लाखसम्म घूस लिएर ९ जनाको फर्जी नियुक्ति गरेका थिए।

नियुक्ति भएको करिब छ महिनासम्म तलब भत्ता नपाएपछि ती कर्मचारीले गत माघ ४ गते तलबभत्ताको माग गर्दै प्रशासनमा उजूरी दिएपछि फर्जी शिक्षक नियुक्ति प्रक्रियाको घटना सार्वजनिक भएको थियो। त्यसपछि उक्त विद्यालयको प्रअको कार्यकक्षमा राति आगजनीसमेत भयो। फर्जी शिक्षक प्रक्रियाको प्रमाण मेटाउन ठाकुरले नै उक्त घटना घटाएको हुनसक्ने आशंका गरिएको छ। घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ।