राम मण्डल/ वीरगञ्ज
सामाजिक सञ्जाल तथा फोनबाट महिलालाई प्रेमजालमा पारी गरगहना तथा रकम लुटेर फरार एक जना पक्राउ परेका छन् ।
प्रेमजालमा पारेर महिलाको रकम र गहना लुटेर फरार बाराको प्रसौनी गाउँपालिका–४ खुटवा प्रसौनी बस्ने महमद रफिक रायभटलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रायभटले वैशाख ५ गते चन्द्रपुर नगरपालिका–४ स्थित चपुर पराठा एन्ड गेस्ट हाउसमा महोत्तरी बस्ने एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गर्न लगाई बेहोस पारेर लुटपाट गरेका थिए ।
महिलाले लगाएको २ लाख ८० हजारको गहना र नगद १० हजार लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा पक्राउ परेका रायभटले महिलालाई फोन तथा सामाजिक सञ्जालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा होटलमा लगी उनीहरूकै नामबाट कोठा बुक गर्न लगाई पेय पदार्थमा लठ्ठिने नसालु पदार्थ मिसाई खुवाएर बेहोस पारेर लुट्ने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका रायभटलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।