वर्षाका कारण जनकपुर जलमग्न

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
विगत दुई दिनदेखिको लगातार वर्षाका कारण पानीको उचित निकास नहुँदा जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ ।
अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदा समेत कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको जनकपुरका स्थानियहरुको गुनासो छ । यस्तै हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।

अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् ।

वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।