‘पुस्ता फेरियो, सडक फेरिएन’

[sharethis-inline-buttons]

सर्लाही — पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक खण्ड कालोपत्र भइसकेको छ तर सर्लाहीमा पर्ने करिब ४१ किलोमिटर सडकको अवस्था भने दयनीय छ । ठेक्का लागेर पनि कालोपत्र हुन नसक्दा स्थानीय हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्न बाध्य छन् ।

 

वर्षा लागेसँगै हिलाम्मे बनेको सर्लाहीस्थित हुलाकी सडक । 

पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी २०७३ सालमा ३ वटा प्याकेजमा ठेक्का लागेको थियो । कुल ४०।२३ किमि खण्ड कालोपत्र गर्न ६४ करोड रुपैयाँमा ठेक्का लागेको हो । हालसम्म निर्माण कम्पनीले ३२ करोड रुपैयाँभन्दा बढी रकम बुझिसके पनि सडकको अवस्था उस्तै जीर्ण छ । गोडैता नगरपालिका–१० सिसौटियाका कुन्दनकुमार झाले सडकको दुरवस्थाका कारण यस भेगका नागरिकले सधैं सास्ती व्यहोर्नुपरिरहेको गुनासो गरे । ‘हामीहरूका लागि हुलाकी सडक नै मुख्य सडक हो, जहाँ गए पनि हुलाकी सडक भएरै जानुपर्छ तर सडक एकदम जीर्ण छ,’ उनले भने, ‘बाल्यकालदेखि देख्दै आएको सडकको अवस्था जस्ताको त्यस्तै छ, हिउँदमा धुलोको मार खेप्दै आएका हामी वर्षा लागेपछि बाटो हिँड्न बाध्य छौं ।’

तराई र मधेस क्षेत्रको ‘लाइफलाइन’ मानिए पनि हुलाकी मार्गमा प्रत्येक वर्ष बाढीका कारण कटान हुने समस्या पनि छ । यो सडकले जिल्लामा सदरमुकाम मलंगवासहित भारतीय सीमा नजिकका ५० ग्रामीण बस्तीलाई समेट्छ । तर, ठूलो बाढी आए यी बस्तीसँग मलंगवाको सम्पर्क टुट्छ । यस क्षेत्रमा पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने नफेरिएको झाले बताए ।

हुलाकी सडक कालोपत्र हुनुपर्नेमा राजनीतिक दलहरू, स्थानीय तह र यस क्षेत्रका संघीय र प्रदेश सांसदहरू पनि छन् । जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सडक कालोपत्र गर्न दबाब दिन दलहरूले सर्वदलीय संघर्ष समिति नै बनाएका छन् । संघर्ष समिति मलंगवा र सहिद चोकमा पटक–पटक धर्नामा बसे पनि निर्माणकार्यलाई गति दिन खासै दबाब पुग्न सकेको छैन ।

हुलाकी सडक आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो भने निर्माणकार्य भइरहेको दाबी गर्छन् । उनले म्याद थप गरेर कालोपत्रको काम भइरहेको जानकारी दिए । ‘समयभित्र हुलाकी सडकको काम हुन सकेन, अहिले म्याद थप गरेर काम थालिएको छ,’ उनले भने, ‘यस अर्थिक वर्षमा सर्लाहीको सम्पूर्ण हुलाकी सडक कालोपत्र हुनेछ ।’

प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले हुलाकी सडकको काम सुस्त गतिमा भइरहेको बताए । प्रजिअ गौतमले पटक–पटक ठेकेदारलाई ताकेता गर्दा पनि निर्माणको रफ्तार भने बढ्न नसकेको स्विकारे । ठेकेदारले प्रतिबद्धता जनाउने तर काम नगर्ने प्रवृत्ति हावी रहेको उनको भनाइ छ । ‘ठेकेदारलाई ताकेता गरेपछि कालोपत्र गर्न प्रतिबद्धता जनाइहाल्छन् तर काम गर्दैनन्,’ उनले भने, ‘अब त वर्षाको बहाना बनाउँछन् ।’ कान्तिपुर अनलाईन