आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार कार दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् ।
बीआर ०५ एआर ५१३७ भारतीय नम्वरको कार दुर्घटना हुदा रौतहटको वृन्दावन नगरपालिका–४ हरैया निवासी शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका यात्रुहरु सवार कार शनिबार राती १ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवका अनुसार घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर छ । घाइते सबैको अहिले बरहथवा स्थित स्थानीय क्लिनिकमा उपचार भइएको बताईएको छ।
दुर्घटनापछि कारका चालक फरार भएका छन् । कार चालकको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।