नेपाल–भारत सीमा नाकाबाट १ सय ८३ महिला तथा बालबालिकाको उद्धार

[sharethis-inline-buttons]

खाज्ञा सम्वाददाता
पर्सा
माइती नेपालले गत साउन १ देखि जेठ मसान्तसम्म चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट १ सय ८३ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

जोखिमपूर्ण रूपमा भारत जान लागेको अवस्थामा सीमामा खटिएका माइती नेपालका सीमा पहरेदारहरूले गृहको संरक्षणमा २ सय ९५ चेलीबेटी तथा बालबालिकालाई उद्धार गरी ल्याएको छ । गृहमा संरक्षण दिइएकामध्ये १ सय ८३ को नाकाबाट उद्धार गरिएको हो भने ७८ जना भारतका विभिन्न सहरबाट उद्धार गरी ल्याइएका हुन् ।गृहले नेपाल र भारतीय प्रहरीको समन्वयमा भारतको रक्सौलबाट, सिक्टा, मुम्बई, मोतिहारी, पटना, दिल्लीलगायत सहरबाट महिला तथा बालबालिकालाई उद्धार गरी स्वदेश फर्काएको हो।

‘तीमध्ये मोतिहारीबाट फिर्ता ल्याइएका चेलीहरू त्यहाँका विभिन्न आर्केस्ट्रामा नृत्य गर्ने पेसामा संलग्न थिए।
यसबाहेक भारतका विभिन्न सहरमा बालश्रममा लगाइएका बालकहरू पनि फिर्ता ल्याइएका छन् । ७८ मध्ये केही भारतमा हराएर नेपालमा आई फेला पारिएका छन।

यस अवधिमा ३४ महिला तथा बालबालिकालाई अन्य निकायले संरक्षणका लागि गृहको जिम्मा लगाईएका छन् । गृहमा ६२ महिला तथा बालबालिका खोजतलासका लागि निवेदन परेकोमा ३२ लाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ । ‘मानव बेचबिखनका ३ मुद्दामा ५ महिलालाई उद्धार गरी १२ पीडक माथि अदालतमा मानव बेचबिखन मुद्दा चलाउन गृहले सहजीकरणको भूमिका खेलेको छ, ‘१२ अभियुक्तमध्ये ७ जना फरार छन् भने ५ जना थुनामा रहेको माइती नेपालले जनाएको छ।