महोत्तरी, जेठ १५ गते ।
महोत्तरीमा धानको बीउको अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् ।“आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला ?”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भने ।
“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभियानको प्रचारप्रसार सम्झँदै उनले भने, “अहिले पद सम्हालेपछि भेट्नै सकिन्न ।”समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेका हुन् । यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलपूmल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यही जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाँइ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ ।
असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाँइ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा त भई नै हाल्यो, धानको बीउ पाइएको छैन,” जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान मन्सुर राइन भने, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग हुनेभयो, समयमै धान रोपाँइ गर्न नपाइने भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखी सक्नुपर्नेमा आफहरु अझै बीउ नपाएर झोक्राउनु परेको उनको भनाइ छ ।
जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नु परेको किसानको भनाइ छ ।“हाँमीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौ धानका जात हुन्थे” भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादब भने, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।”
पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् । विकासे धान लगाउन थालीकन वर्षेनिजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएको किसानको गुनासो छ ।
“गाउँमा सिंहदरबार पुगेको कुरामात्र भयो, हाम्रा कुनै स्थानीयतहले कृषि शाखा राम्रो चलाउन सकेनन्” लगन र मेहनेतले राम्रो उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादव भने, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषय पिच्छेका विज्ञ (बाली, फलफूल, तेलहन, मत्स्य) थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।”
खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरिदिने २०७४ कै स्थानीयतहको निर्वाचन भएयता कोही नभेटिएका उनले विरक्तिँदै भने । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ स्थानीयतहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरुबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ ।
सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल भने । “जिल्लास्थित कृषि ज्ञान केन्द्र प्रदेश सरकार मातहत छन्” सहसचिवको सेवाबाट निवृत्त हुनुभएका उहाँले भन्नुभयो, “पहिलेका केन्द्र र उपकेन्द्र चै स्थानीयतह मातहत, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीयतहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”सैद्धान्तिक रुपमा यस्तो व्यवस्था भए पनि स्थानीयतहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले काममा नदेखिएका जिल्लाको आम कुरा नै बनेको छ । यहाँका स्थानीयतहले कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गरेका छन् ।
“यो विलकूल विषय दक्षतामा आधारित क्षेत्र रहेछ” भर्खरै भङ्गाहा नगरपालिकामा दोस्रो कार्यकाल सुरु गर्नुभएका नगर प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन, हामी यो व्यवस्थापन अब गर्छौं ।”
स्थानीयतहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आपूmहरु स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको आम गुनासो छ ।टुडे पाटी- रासस-
