आज्ञा सम्वाददाता
पर्सा
वीरगन्जमा सोमबार मध्यरातमा चुनावको विषयलाई लिएर रातभर तनाव भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा चुनावको विषयलाई लिएर रातभर तनाव भएको हो। नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगी,सोमबार राति
मोटरसाइकलमा सवार भइ आफ्ना सहयोगीका साथ राति १२ बजेतिर स्थानीय कांग्रेस नेता विनोद चौरसीयाको घरमा गएका थिए। चौरसीयाको घरमा सरावगी प्रवेश गरेलगत्तै उनलाई पछ्याउँदै गएका
जनता समाजवादी पार्टीका कार्यकर्ताको एक समूहले सरावगीले निर्वाचन आचार संहिता उल्लंघन गरेर राति मतदाताको घरमा आएको भनेर होहल्ला गरेका थिए।
चौरसीयाको घरको मुल गेट अगाडि नै झण्डै तीन घण्टासम्म स्थानीयको समूहले होहल्ला गरिरहेपछि वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरबाट गएको टोलीले मंगलबार बिहान ३ बजेतिर चौरसीयाको घरबाट सरावगीलाई उद्धार गरेर चिनीमिल आवास क्षेत्रस्थित उनको घरमा पु¥याएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काँग्रेस कार्यकर्ताको घरमा पुगेकाले राति प्रदर्शन गरेको जसपाका कार्यकर्ताहरुले भने सरावगी निर्वाचन आचार संहिता उल्लंघन गरेर मध्यरातमा काँग्रेसी नेताको घरमा आउनु शंकास्पद भएकाले आफूहरुले निगरानी गरेको बताए। सरावगी पैसाको झोला बोकर भोट किन्न आएपछि आफूहरुले प्रतिवाद गरेको उनीहरुको भनाइ छ।
जसपाका कार्यकर्ताले चौरसीयाको घरमा खानतलाशी गर्न भने पनि प्रहरीले नमानेको उनीहरुको आरोप छ। तर प्रहरी उपरीक्षक बस्नेतले चौरसीयाको घर प्रहरीले खानतलाशी गरेको र त्यहाँ कुनै पनि रकम फेला नपरेको बताए।
यता सरावगीले नगवाको रातिको घटना जसपाका मेयर उम्मेदवार र उनीबाट परिचालित कार्यकर्ताहरुको चुनावी स्टण्ट भएको बताए। उनले आफू मत माग्न मतदाताको घरमा गएका बेलामा विपक्षी दलका उम्मेदवार र तीनका कार्यकर्ताले गुण्डागर्दी शैलीमा होहल्ला गरेर अनावश्यक बवाल गरेको बताए।
सोमबार राति आफू परवानीपुरको रात्री चुनावी सभामा रहेकै बेला नगवाबाट चौरसीयाले फोन गरेर बोलाएको र परवानीपुरको कार्यक्रम सकेर जाँदै गर्दा राति पौने १२ बजेतिर उनको घरमा पुगेको सरावगीले बताए। आफू चौरसीयाको घरमा पुग्ने बित्तिक्कै नजिकै जसपाले गरिरहेको चुनावी भोजभतेरमा रहेका जसपाका कार्यकर्ताहरुले अराजक शैलीमा होहल्ला गरेर घर घेराउ गरेको सरावगीले बताए।
होहल्ला गरेको १ घण्टासम्म कुर्दा पनि प्रहरीबाट कुनै पहल नभएपछि आफूले पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतलाई फोन गरेर घटना बारे जानकारी गराए पनि दुई घण्टासम्म कुनै वास्ता नगरेको सरावगीले गुनासो गरे।
त्यसपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई फोन गरेपछि मात्र प्रहरी उपरीक्षक बस्नेतले प्रहरीको थप टोली पठाएर त्यहाँबाट आफूलाई उद्धार गरेर आफ्नो निवासमा पु¥याइ दिएको सरावगीले बताए। प्रहरी प्रमुखको बदनियतका कारण आफू त्यहाँ ३ घण्टासम्म मानसिक यातना खेप्न बाध्य भएको आरोप पनि सरावगीले लगाए।
कुनै पनि उम्मेदवारले निर्वाचन आचार संहिता विपरित बेलुकी ७ बजेपछि चुनावी गतिविधि गर्न नपाउने भन्दै प्रहरी उपरीक्षक बस्नेतले सोमबार राति भएको घटना बारे अनुसन्धान भइरहेको बताए।