सञ्चयकोषको ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

[sharethis-inline-buttons]

काठमाडौं बैशाख २६, २०७९ सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको छ । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ ।ठगी आरोपमा हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सो मलमा ५० प्रतिशत सेयर रहेको छ । कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो । कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा समेत ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो । कोषले गत मङ्सिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न मललाई ताकेता गरेको थियो सिभिल स्टेट्सले कोषबाट ऋण लिन सुनधारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा सटरहरू नै धितो राखिएको थियो ।मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया रहेका छन् भने कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रूपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रवीण प्रसाद प्रधान र सुमन नन्दन वैद्य बसेका छन् ।

साभार: रातोपाटि