सिन्धुलीका ३३ वटा वटामा एम्बुलेन्स सेवाको सुविधा पुगेको छ । जिल्लाको नौ स्थानिय तहका ७९ वटा वडा मध्ये ३३ वटा वडामा एम्बुलेन्स सेवा पुगेको हो । यी सबै वडामा १ सय ७ वटा सरकारी स्वास्थ्य संस्था छन् । तीमध्ये ३२ वडाका स्वास्थ्य संस्थामा एम्बुलेन्स सुविधा रहेको स्थानीय तहले जनाएका छन् । जिल्लाको ४६ वडा अझै एम्बुलेन्स विहीन छन् ।
सुनकोसी गाउँपालिकाको सबै वडामा एम्बुलेन्स सेवाको पहुँच छन् । ७ वटा वडा रहेको पालिकाका सबै वडामा एम्बुलेन्स सुविधा रहेको अध्यक्ष दीपा बोहोरा दाहालले बताउनुभयो । उहाँका अनुसार पालिकामा ७ वटै वडामा गरी ११ स्वास्थ्य संस्था छन् । कमलामाई नगरपालिकाका १४ वडामध्ये १, ३, ६, ८, ९, र ११ मा मात्रै एम्बुलेन्स सेवा छ । कमलामाई नगरपालिकामा १४ वटा सरकारी स्वास्थ्य संस्था रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेश पासवनले बताउनुभयो । तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये १ र ११ मा मात्रै एम्बुलेन्स सेवा छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बाँकी ९ वटा वडामा एम्बुलेन्स सेवा उपलब्ध नभएको जनकारी दिनुभयो । फिक्कल गाउँपालिकाका ६ वटा वडामध्ये २ र ५ मा मात्र एम्बुलेन्स सुविधा छ । गोलन्जोर गाउँपालिकाका ७ वडामध्ये वडा नम्बर ३ मा मात्रै एम्बुलेन्स छ । यसैगरी, दुधौली नगरपालिकाका १४ वडामध्ये १, ५, ६, ९, ११, १२, १३ र १४ मा एम्बुलेन्सको सुविधा रहेको छ । नगरपालिकामा १६ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।
घ्याङलेख गाउँपालिकाका ५ वडामध्ये वडा नं ३ मा मात्रै एम्बुलेन्स छ भने १० वटा स्वास्थ्य संस्था छन् । झन्झटिलो प्रक्रियाका कारण एम्बुलेन्स खरिदका लागि समस्या भएको अध्यक्ष जगतबहादुर भोलनले बताउनुभयो । मरिण गाउँपालिकाका ७ वटा वडामध्ये ३, ६ र ७ मा मात्रै एम्बुलेन्स छ । गाउँपालिकाको भित्र हाल १० वटा स्वास्थ्य चौकी स्थापना गरिएपनि ३ वटा वडामा अझै एम्बुलेन्स पुग्न सकेको छैन् । गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनका अनुसार प्रत्येक वडामा एम्बुलेन्स सेवा पुराउने तयारी भइरहेको छ । “एम्बुलेन्स सुविधा नपुगेका वडामा पनि अन्य एम्बुलेन्सले आवश्यकताको आधारमा काम गरेको छ । एम्बुलेन्स खरिद गर्ने तयारी छ । छिटै नि हामी सबै वडामा एम्बुलेन्स सेवा उपलब्ध गराउने छौँ ” उहाँले भन्नुभयो ।
यस्तै हरिहरपुरगढी गाउँपालिकाका ८ वटा वडामध्ये २, ४ र ७ मा एम्बुलेन्स छ । मरिणमा ९ वटा र हरिहरपुरगढीमा ११ वटा स्वास्थ्य संस्था छन् । गाउँपालिकाको प्रत्येक वडा एम्बुलेन्स सेवा नभएपनि आवश्यकताको आधारमा एम्बुलेन्स सेवा दिरहेको गाउँपालिकाले जनाएको छ ।
प्रत्येक वडामा एम्बुलेन्स सेवा नहुदाँ समयमा उपचार पाउन मुस्किल हुने गरेको स्थानियले गुनासो गरेका छन् । “आफ्नो वडामा एम्बुलेन्स सेवा नहुदाँ, वडा भित्रका कोहि नागरिक बिरामी परेमा तत्काल अस्पताल पुग्न समस्या हुन्छ । अन्य वडामा एम्बुलेन्स सेवा भएपनि समयमा आउँदैन ।” एक स्थानियले भन्नुभयो ।
साभार: सिन्धुली सौगात