निःशुल्क प्रवेशको निर्णयविरुद्ध जनकपुरको विवाहमण्डप र सङ्ग्रहालय बन्द

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

मधेश प्रदेशका गृहमन्त्री फकीरा महतोले विवाहमण्डप र जानकी मन्दिर परिसरस्थित सङ्ग्रहालयमा निःशुल्क प्रवेशको व्यवस्था गर्न दिएको निर्देशनको विरोधमा मंगलबारदेखि दुवै संरचना बन्द गरिएका छन्।

विवाहमण्डप तथा सङ्ग्रहालय व्यवस्थापन पक्षले जिल्ला प्रशासनसँग आवश्यक समन्वय र परामर्शबिनै यस्तो निर्णय गरिएको भन्दै सेवा बन्द गरेको जनाएको छ। व्यवस्थापनका अनुसार सहमतिविना लागू गरिएको निर्णय स्वीकार्य नभएकाले विरोधस्वरूप अवलोकन सेवा स्थगित गरिएको हो।

सङ्ग्रहालय र विवाहमण्डप बन्द भएपछि त्यहाँ पुगेका स्वदेशी तथा विदेशी पर्यटक, साथै दर्शनार्थीहरू प्रभावित भएका छन्। धार्मिक तथा पर्यटकीय महत्व बोकेका यी स्थल दैनिक ठूलो सङ्ख्यामा आगन्तुक पुग्ने गन्तव्यका रूपमा परिचित छन्।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार विवाहमण्डप निर्माण सम्पन्न भएयता मन्दिर व्यवस्थापन, कर्मचारीको तलब–सुविधा तथा सञ्चालन खर्च टिकट बिक्रीबाट प्राप्त आम्दानीबाट नै धानिँदै आएको छ। सबै टिकट शुल्क हटाउने निर्णयले व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने भएकाले विरोधस्वरूप सङ्ग्रहालय बन्द गरिएको उनले बताए।

व्यवस्थापन पक्षले वार्ता र सहमतिमार्फत समाधान खोज्न सरकारसँग आग्रह गर्दै समस्या समाधान नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

यता, निःशुल्क प्रवेशसम्बन्धी निर्णय र उत्पन्न विवादबारे मधेश प्रदेश सरकारले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...