एकडारामा उल्लासको लहर ः प्रधानमन्त्री नियुक्तिपछि गाउँभरि उत्सव

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली थलो एकडारा गाउँपालिका–आज विशेष उत्साहले झल्किएको छ। राष्ट्रको नेतृत्व सम्हाल्ने उच्च जिम्मेवारीमा शाह नियुक्त भएको खबर सार्वजनिक भएसँगै गाउँवासीले स्वतःस्फूर्त रूपमा खुशीयाली मनाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीमा नियुक्त गरिएको खबर गाउँसम्म आइपुग्नेबित्तिकै स्थानीयहरू एकअर्कालाई अबिर लगाउँदै, फूलमालाले सम्मान गर्दै र अँगालो हाल्दै बधाई साटासाट गर्न थाले। गाउँका गल्लीदेखि चौतारासम्म हर्षोल्लासपूर्ण वातावरण देखिएको छ।

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलका अनुसार यो केवल एक वडाको मात्र खुशी नभई सम्पूर्ण महोत्तरीवासीका लागि गर्वको क्षण बनेको छ। “हाम्रो गाउँबाट देशको नेतृत्व गर्ने व्यक्तित्व उदाएको छ, यसले जिल्लाकै पहिचान उचो बनाएको छ,” उनले बताए।

वडाध्यक्ष मनोज मण्डलले पनि गाउँमा उत्सवमय माहोल रहेको जानकारी दिए। उनका अनुसार घरघरमा परिकार तयार पार्ने, एकअर्कालाई मिठाइ खुवाउने र बाटो हिँड्नेहरूलाई समेत लड्डु तथा पेडा बाँड्ने क्रम दिनभरि जारी छ।

प्रधानमन्त्री शाहको पुख्र्यौली घर रहेको स्थान अहिले गाउँपालिकाको कार्यालयका रूपमा प्रयोग भइरहेको छ। सो स्थल पनि आज विशेष रूपमा सजाइएको छ। साँझपख भने गाउँभरि दीपावली गर्ने तयारी भइरहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

स्थानीयका लागि यो दिन केवल उत्सव मात्र होइन, इतिहासमा अंकित हुने गौरवपूर्ण क्षणका रूपमा पनि लिइएको छ। गाउँलेहरूका अनुसार एकडाराको नाम अब राष्ट्रिय स्तरमै थप चिनिने विश्वास गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...