आज्ञा खबर
बर्दिवास
नेपालको राजनीतिक र सामाजिक इतिहासमा सयौं पात्रहरुले आफ्नो जीवन समर्पण गरे । कतिपयलाई इतिहासले सम्झन्छ, तर केही पात्रहरू इतिहासको छायाँमा हराउँछन् । यम बहादुर बुढाथोकी यिनै दुर्लभ पात्रहरूमध्ये एक हुन्, जसको जीवनसंघर्ष, समर्पण र मुल्य–मान्यताले आजका पुस्तालाई पनि मार्गदर्शन गरीरहेको देखिन्छ ।
वि.सं. २००९ सालमा रामेछाप जिल्लाको गेलु ६, सितलाल गाउँमा जन्मिएका यम बहादुर बुढाथोकीले जीवनको शुरुवात १७ बर्षको उमेरमा नेपाल प्रहरीको सेवाबाट शुरु गरे । उनी १६ वर्ष नेपाल प्रहरी सेवामा रहे । जागिरे जीवनको यो चरणले उनलाई अनुशासन, कर्तव्य र सेवा भाव सिकायो । तर, उनको वास्तविक यात्रा प्रहरी पोशाकमा मात्रै सीमित रहेन ।
वि.सं. २०३९ सालमा प्रहरीको जागिर छोड्दै बुढाथोकी आफ्नो जन्मथलो रामेछापबाट बसाई सरेर महोत्तरी जिल्लाको पाटु गाउँपञ्चायतमा स्थानान्तरीत भए। पाटुमै बसेर उनले सक्रिय राजनीतिको सुरुवात समेत गरे । त्यसको केही समयमै जनसम्पर्क र व्यवहारले उनले गाउँलेको विश्वास जिते र २०४२ सालको पञ्चायती व्यवस्थाको निर्वाचनमा बुढाथोकी गाउँको प्रधानपञ्च पदमा विजयी भए । त्यसबेला गाउँको नेतृत्व गर्नु सम्मानको विषय मात्र होइन, जिम्मेवारी पनि थियो ।
तर, समय चुप लागेर बस्दैन । वि.सं. २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था ढाल्यो र देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । बुढाथोकी पनि नयाँ युगको साक्षी बने, यद्यपि उनले आफ्नो पद गुमाए । त्यो पल सम्झिँदै उनी भन्छन्, “त्यो हार होइन, जनताको निर्णयप्रति स्वीकारोक्ति थियो ।”
गाउँ पञ्चायत अध्यक्षको पद गुमाएपछि उनले निजी क्षेत्रमा पाइला टेके ।“बुढाथोकी निर्माण सेवा” नामक ठेकेदारी फर्म स्थापना गरी निर्माण व्यवसायमा क्रियाशिल भएर त्यसमै चार वर्ष बिताए । यस अवधिमा उनले गाउँमा बाटो, कुलो र अन्य पूर्वाधार निर्माणमा योगदान दिए ।
त्यति गर्दा सम्म पनि उनको राजनीतिक भावना मनभित्र नै थियो । त्यसैले २०५० सालमा नेपाली कांग्रेसको पाटु गाउँ इकाई समितिको अध्यक्ष बने । पार्टीको काम गर्दै जाँदा उनले २०५३ सालको गा.बि.स.अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिए । तर, निर्वाचनमा पराजय भोग्नुप¥यो ।
यो पराजयले उनलाई थलाएन, बरु आत्ममूल्यांकन गरायो । सायद यही सोचले उनलाई पुनः आफ्नो पुरानो पेशा – प्रहरी सेवामा फर्किन प्रेरित ग¥यो । वि.सं. २०५४ सालमा उनी पुनः नेपाल प्रहरीमा बहाल भए र दुई वर्ष सेवा गरेर २०५६ सालमा स्वेच्छिक अवकाश लिए ।
भ्रष्ट्राचारविरुद्धको लडाइँ
२०६७ साल चैत ३ गतेको दिन बुढाथोकीका लागि एउटा ऐतिहासिक मोड बन्यो । काठमाडौँको खुला मञ्चमा देशमा बढ्दो भ्रष्ट्राचारविरुद्धको आन्दोलनमा सहभागिता जनाउँदै उनले अन्न त्याग गरी ‘मेची–महाकाली धर्ना अभियान’ चलाए । यो अभियान कुनै राजनीतिक स्वार्थको लागि थिएन, यो अभियान एउटा नागरिकको आवाज थियो, जो देशमा परिवर्तन चाहन्थे ।
त्यो समयमा उनले देशका विभिन्न भागमा पुगेर अन्न त्याग्दै धर्ना दिएका थिए, जसले उनलाई ‘संविधान निर्माण नहुञ्जेल अन्न नखाने’ प्रतिबद्ध आन्दोलनकारी बनायो । बुढाथोकी सम्झिन्छन्, “त्यो समय मेरो शरीरभन्दा ठूलो मेरो आवाज थियो, र त्यो आवाज देशका लागि थियो ।”
देशमा संविधान जारी भएपछि उनी राजनीतिक आन्दोलनभन्दा पनि सामाजिक सेवातर्फ बढी केन्द्रित भए । प्रभातकालिन समयमा उनी दैनिक १ घण्टा गाउँको सरसफाइ, बाटो मर्मत मन्दिर सफाई जस्ता सामाजिक श्रममा लागे ।
यही सामाजिक भावनाले प्रेरित भएर उनले“जेष्ठ नागरिक समाज” नामक संस्था स्थापना गरे । अहिले उनी त्यसै संस्थामार्फत् जेष्ठ नागरिकको हक–हितका लागि काम गरिरहेका छन् ।
उनले भनिरहेका छन्, “सरकारले दिएको अधिकार हरेक जेष्ठ नागरिकसम्म पु¥याउनु नै मेरो लक्ष्य हो ।”उनको समाजले त्यसता नागरिककालागी निःशुल्क स्वास्थ्य शिविर, कानुनी परामर्श, र दैनिक योग कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
हाल यम बहादुर बुढाथोकी नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत हुन् । यद्यपि उनि कुनै पदमा छैनन्, तर पार्टीका प्रत्येक गतिविधिमा उनको सहभागिता देखिन्छ । गाउँका युवाहरूसँग उनी नियमित संवाद गर्छन्, राजनीतिक सचेतनाको सन्देश दिन्छन् ।
हाल ७२ वर्षका बुढाथोकी बर्दिवासकै एउटा जीवित इतिहास हुन् । उनी प्रहरी थिए, नेता थिए, आन्दोलनकारी थिए, सामाजिक कार्यकर्ता बने । उनले पदको पछि लागेर होइन, नागरिकको हितको पछि लागेर इतिहास निर्माण गरे ।
बुढाथोकीको बिषयमा बर्दिवास ३ का स्थानीय युवा रमेश खत्री भन्छन्“हामीले उहाँबाट सीपभन्दा पनि मूल्य र सेवा भाव सिकेका छौँ ।”
यम बहादुर बुढाथोकीको कथा केवल एउटा व्यक्तिको मात्रै नभई एउटा युगको कथा हो । प्रहरी पोशाकमा सुरु भएको उनको जीवन राजनीतिक लहरहरूसँग डगमगाउँदै समाज सेवामा केन्द्रित भयो ।
उनले पद गुमाए, पराजय भोगे, तर आदर्श गुमाएनन् । उनलाई आज न कुनै इतिहासको पानाले सम्झिन्छ, न त तिनै तहको सकारले सम्मान नै दिएको छ । तर, गाउँलेको मनमा उनी ‘बुवा’, ‘नेता’, ‘सेवक’ र ‘शिक्षक’ सबै बनेर बसिरहेका छन् ।
नेपाल जस्तो देशमा यस्ता पात्रहरू सधैं नदेखिने नायक हुन – जसको जीवनले सधैं भन्छ,“सेवा नै धर्म हो, र त्याग नै आदर्श।“





































