ओझेलमा परेका युग पुरुष : सहिद सरलाका बुबा,कमल देवकोटा

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
जनयुद्धको भीषण कालखण्डमा एउटा सशक्त नेताका रूपमा उदाएका कमल देवकोटा (उजवल) आज आफ्नै घर, बर्दिवास नगरपालिका–११ खयरमारा स्थित चार पर्खालभित्र ओझेलमा परेका छन्। देशमा जनयुद्ध शुरु हुनु भन्दा पहिले एमाले, र जनयुद्ध शुरु भएपछी माओबादी कम्युनिष्ट भूमिगत राजनीतिमा नक्सलवादको प्रभाव बोकेर हिंडेका यी ७० वर्षीय बृद्ध नेताको हाल कुनै राजनीतिक परिचय छैन। उनी न त पार्टीको कुनै जिम्मेवारीमा छन्, न राज्यले नै सम्झिएको छ।

१० बर्षिय जनयुद्धले कमल देवकोटाबाट धेरै लिएर गयो—शारीरिक सशक्तता, समय, आत्मबल र सबैभन्दा पीडादायी कुरा—उनकी आफ्नी माईली छोरी सरला देवकोटा, ती हुन् जसले कम उमेरमै सशस्त्र जनयुद्धमा सामेल भएर आफ्नो प्राणको आहुति दिइन्। तर, उनले बुझेको सपना, र उनको बुवाले देखेको क्रान्तिको सपना अझै अधुरै छ।
जनयुद्धकालिन क्रियाशिल नेता कमल देवकोटा ती नाममध्ये पर्दछन्, जसले महोत्तरी, धनुषा र सिरहाजस्ता तराईका जिल्लामा कम्युनिष्ट आन्दोलनको जरा गाडेर जनयुद्धको विस्तारमा महत्वपूर्ण भूमिका खेले। २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धमा केहि समयभित्रै उनी पूर्णकालीन कार्यकर्ता बने। युद्धकालमा बिभिन्न भेष भुषामा भूमिगत कमाण्डरको रूपमा खटिएर परिचित बनेका उनी भूमिगत रूपमै क्रान्तिमा समर्पित रहे।

कमल काका युद्धको बेलामा पार्टीको कामगर्न सधै समर्पित रहनु हुन्थ्योे,”उनका पुराना मित्र तथा सहकर्मी रामपुकार यादव सम्झिन्छन्, “न सिद्धान्तबाट डगमगाउनु भयो, न त सुरक्षाको चिन्ता गर्नुभयो। उहाँका लागि सबैभन्दा ठूलो कुरा थियो—जनताको मुक्ती ।”
कमल देवकोटाको संघर्षमय जीवनको एउटा पीडादायी अध्याय हो—छोरी सरलाको बलिदानी। किशोरावस्थामै राजनीतिमा लागेकी सरला कम्युनिष्ट पार्टीको सशस्त्र अग्रदस्तामा समावेश थिइन्। २०६० सालमा सर्लाही र महोत्तरीको सिमानामापर्ने पिपल दमारमा शाही नेपाली सेनाको दोहोरो झडपमा परेर उनी शहीद भइन्। यो दुखद घटनाका कारण कमल देवकोटाले आफ्नो क्रान्तिको फूल चढाउन आफ्नै छोरीको चिहानमा ढोग गर्नुपर्यो।
न्याय,समानता,स्वतन्त्रता र जनताको मुक्तिकालागी मेरी छोरी मारिन्,” तर म गर्व गर्छु, मेरी छोरी क्रान्तिमा मरेकी छे। त्यो पीडाबाट अझ शक्तिशाली नेता भएर उभिन सिकें।” उनले विगतमा छोरीलाई सम्झिएर भन्ने गर्दथे
तर युद्ध सकिएको १८ वर्ष पुगी सक्दा पनि कमल देवकोटाको योगदानको कुनैपनि किसिमको सम्मान भएको छैन। एक समयका युद्ध रणनीतिकार, जनतालाई सङ्गठित गर्ने नेता र कार्यकर्ता तयार पार्ने मार्गदर्शकलाई आज कसैले सम्झिँदैन। उनको नाम निशान समेत माओबादी पार्टीको नेताको सूचीमा आजको दिनमा कतै छैन, न त राज्यले नै उचित कदर गरेको छ, न उनको परिवारलाई कुनै खासै सहयोग उपलब्ध गराएको छ।
उनि अहिले बर्दिवास–११ स्थित खयरमारा गाउँमा रोग र अभाबको समनागर्दै जिर्ण शरीर लिएर एक सामान्य जीवन यापन गरिरहेका छन्। हाल बृद्ध र असक्त भइसकेका कमल देबकोटाको दिनको अधिकांश समय आफ्नै घरको छेउछाउ हिँडेर बित्ने गर्छ ।

कहिले नातिनातिनीसँग खेल्दै, कहिलेकाहीँ पुराना पार्टी दस्तावेज पल्टाउँदै उनी भन्छन“क्रान्ति त सफल भयो भन्थे, तर हामीजस्ता कार्यकर्ता झनै पराजित भयौं।”
१० बर्षे जनयुद्धको जगमा २०६२ — ६३ सालको जनआन्दोलन सफल भयो,
देश शान्ति प्रक्रियामा आयो । माओबदीका धेरै नेताहरू सत्तामा पुगे,मन्त्री, सांसद बने संविधान निर्माता भए। तर, कमल देवकोटाजस्ता जरा तहका नेताहरूलाई न राज्यले सम्झियो, न त पार्टीले नै सहिद परिवारको नाममा राजनीति गर्नेहरू धेरै भए, तर सरला देवकोटा जस्ती साहसी छोरीका बुबालाई राज्यले एक थान सम्मानपत्र समेत दिएन।
उनले अहिले राज्यसँग केही अपेक्षा राख्दैनन्। “मैले जुन कुरा विश्वास गरेर क्रान्ति गरेको थिएँ, त्यो सपना अधुरै छ,” उनी भन्छन्, “हिजो हामीले भनेका समानता, न्याय, समावेशिता, शिक्षा, स्वास्थ्य—कहाँ छन?”ती कुरा जनताको पहुँचमै आएनन । नेपाली क्रान्तिका एक सहासी योद्धा खयरमारा निवासी देबकोटा लाई आज समाजले हेर्ने आँखा समेत फेरीएको छ ।
स्थानीय समाजमा पनि उनी बिस्तारै ओझेल पर्दै गएका छन्। पहिले–पहिले गाउँका राजनीतिक छलफलमा अग्रपंक्तिमा देखिने कमल अब एकान्तप्रिय बनेका छन्। “कहिलेकाहीँ उहाँसँग भेट हुन्छ, तर उहाँ धेरै बोल्न चाहनुहुन्न,” स्थानीय एकजना युवा नेता भन्छन्, “हामीले उहाँबाट सिक्नुपर्ने धेरै कुरा छन्।”

युवाहरूका लागि उनले देखाएको संघर्ष एक प्रेरणा हुन सक्छ। उनी आज राजनीतिक अ‍ोझेलमा परेपनि, उनको जीवन इतिहासको महत्वपूर्ण दस्तावेज हो।
महोत्तरी जिल्लाकै क्रन्तिको ईतिहासमा कमल देवकोटा कुनै सामान्य नाम होइन। यो नामसँग जोडिएको छ एक युगको कथा—त्यो युग जुन परिवर्तनको ज्वालामा जलेको थियो। त्यो युग जहाँ छोरीले बुवालाई गौरव दिन प्राण दिएकी थिईन। तर, अहिले त्यो रोगी बुवा एउटा घरको कुनामा लाचारीका साथ बाँचेका छन्।
अहिले देशमा संघियता लागु भएर गाउँ गाउमा बिकासका सवालहरु उठिरहदा राज्य, समाज र पार्टीले आफ्नो इतिहास सम्झनुपर्ने बेला आएको छ ।
यहि कुरालाई आत्मसाथ गर्दै तिनै तहका सरकार र उनले बिगतमा नेतृत्व गरेको राजनितिक पार्टीले परिवर्तनका आधार बनेका पात्रहरूलाई सम्झेर सम्मान गर्ने समय आजको हो। किनभने जहाँ इतिहास लेखिन्छ, त्यहाँ कमल देवकोटा जस्ता पात्रहरू बिना त्यो इतिहास अधुरै रहन्छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...