आज्ञा खबर
काठमाडौं
नेपाली कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद समाधानको दिशामा कुनै प्रगति नदेखिएपछि पार्टी विभाजनको जोखिम थप गहिरिएको छ। नियमित महाधिवेशनको माग गर्दै आएका नेताहरूले आफ्नो अडान कायमै राखेका छन् भने संस्थापन पक्षबाट कुनै ठोस पहल नदेखिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ।
नियमित महाधिवेशन पक्षधर नेता मीन विश्वकर्माले पार्टी विभाजनको सम्भावना निकै नजिक पुगेको दाबी गरेका छन्। उनले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भएको टेलिफोन संवाद उद्धृत गर्दै संस्थापन पक्षसँग कुनै संवाद नभएको र पार्टी विभाजनतर्फ उन्मुख भएको संकेत दिएका हुन्।
विश्वकर्माका अनुसार खड्काले आफू कुनै पनि हालतमा विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने प्रयास जारी राख्ने बताएका छन्। तर, दुवै पक्षबीच संवादको वातावरण नबन्दा सहमतिको सम्भावना कमजोर बन्दै गएको उनको भनाइ छ।
यता संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले शनिबार विराटनगर पुगेर डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। भेटमा बीपी स्मृति दिवसको तयारीसँगै पछिल्लो राजनीतिक अवस्थाबारे समेत छलफल भएको अनुमान गरिएको छ। यद्यपि छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यसअघि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले विवाद समाधानका लागि असार २५ गतेसम्मको समयसीमा प्रस्ताव गरेका थिए। तर निर्धारित समय बितिसक्दा पनि संस्थापन पक्षबाट कुनै औपचारिक प्रतिक्रिया नआएको भन्दै इतर पक्ष निराश बनेको छ।
यसैबीच संस्थापनइतर समूहले साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी अघि बढाएको छ। साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा भेलाको मिति तय गर्ने र त्यसपछि संगठनात्मक रणनीति सार्वजनिक गर्ने तयारी भइरहेको नेता विमलेन्द्र निधिले बताएका छन्।
इतर समूहका नेताहरूका अनुसार यसअघि नेतृत्वलाई विभिन्न चरणमा सुधार र सहमतिका प्रस्तावहरू बुझाइए पनि त्यसमा संस्थापन पक्षले प्रतिक्रिया नदिएकाले अब वैकल्पिक राजनीतिक रणनीति तय गर्ने तयारी भइरहेको छ।
असार २२ देखि २४ गतेसम्म बसेको इतर समूहको बैठकमा अधिकांश नेता तथा कार्यकर्ताले पनि पार्टीभित्रको गतिरोध अन्त्य गर्न आवश्यक परे नयाँ राजनीतिक मार्ग रोज्न नेतृत्वलाई सुझाव दिएका थिए। अबको निर्णय शीर्ष नेताहरूको छलफलपछि सार्वजनिक हुने बताइएको छ।
कांग्रेसभित्र संवादहीनता लम्बिँदै जाँदा पार्टी एकतामै असर पर्ने हो कि भन्ने चिन्ता नेता–कार्यकर्तामा बढ्दै गएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार समयमै दुवै पक्षबीच वार्ता र सहमति हुन नसके पार्टीभित्रको संकट थप जटिल बन्न सक्ने देखिएको छ।
