आज्ञा खबर
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो प्रदेश अधिवेशन प्रक्रिया सुरु भएसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको छ। नेतृत्व चयनका विषयमा सहमति जुट्न नसक्दा केही प्रदेशमा अधिवेशन प्रभावित भएका छन् भने केही स्थानमा नेतृत्व चयनपछि पनि विवाद कायमै रहेको छ।
कोसी प्रदेशमा सभापति पदका लागि भएको प्रतिस्पर्धामा चन्द्र राई निर्वाचित भए पनि त्यसपछि विवाद उत्पन्न भएको छ। सभापतिमा पराजित भएकी निवर्तमान कार्यवाहक सभापति गोमा तामाङ (सरिन) ले केन्द्रीय नेतृत्वले निर्वाचन प्रक्रियामा प्रभाव पारेर नतिजा प्रभावित गरेको आरोप लगाएकी छन्। उनले आफूविरुद्ध माथिल्लो तहबाट दबाब र निर्देशन प्रयोग गरिएको दाबी गर्दै पार्टी छाड्ने घोषणा गरेकी छन्।
तामाङ पक्षले केही केन्द्रीय पदाधिकारी तथा सांसदहरू निश्चित उम्मेदवारको पक्षमा खुलेर लागेको आरोप पनि लगाएको छ। पार्टी नेतृत्वले प्यानल बनाएर निर्वाचनमा सहभागी नहुन निर्देशन दिए पनि कोसी प्रदेशमा समूहगत प्रतिस्पर्धा भएको बताइएको छ।
उता बाग्मती प्रदेशमा मतदाता नामावली र समायोजन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि अधिवेशन तत्कालका लागि रोकिएको छ। यस्तै मधेस प्रदेशमा अधिकांश जिल्लाको अधिवेशन नै सम्पन्न हुन नसकेकाले प्रदेश अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ।
रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको बेला प्रदेशस्तरमै देखिएका विवाद र असन्तुष्टिले पार्टी नेतृत्वलाई थप चुनौती थपेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। प्रदेश अधिवेशनको क्रममा देखिएको गुटगत ध्रुवीकरणले महाधिवेशनको वातावरणसमेत प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।
