लागुऔषधसहित चार जना नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

प्रहरीले महोत्तरी–धनुषा सीमाक्षेत्र अन्तर्गत पर्ने रातुपुल नजिक ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। संयुक्त सुरक्षात्मक कारबाहीका क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दीबास र इलाका प्रहरी कार्याल यढल्केवरको टोली सक्रिय बनेको थियो।

मंगलवार साँझ करिब ८ बजेतिर विशेष चेकजाँचका क्रममा धनुषाको लालगढबाट बर्दीबासतर्फ पैदल आउँदै गरेका तीन युवालाई शंका लागेपछि प्रहरीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ट्यापेन्टा र स्पासरेष्ट नामका लागुऔषधजन्य ट्याब्लेट बरामद भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–५ सिरथौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दिपेश साह रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले उक्त औषधि धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित एक फार्मेसीबाट खरिद गरेको स्वीकार गरेका थिए।

उनीहरूको बयानका आधारमा प्रहरीले ढल्केवरस्थित ‘अनु फार्मेसी’मा छापा मार्दा ठूलो मात्रामा विभिन्न प्रकारका औषधिजन्य लागुऔषध र नगद बरामद भएको छ। छापाका क्रममा ट्यापेन्टा, स्पासरेष्ट तथा डोएल ब्रान्डका हजारौँ ट्याब्लेटसहित १ लाख ३५ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा फार्मेसी सञ्चालक ५० वर्षीय रामकुमार महत्तोलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय ढल्केवरले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको समेत जानकारी दिएको छ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...