आज्ञा खबर
बर्दिवास
महोत्तरी–१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको उत्साह सेलाउन नपाउँदै एउटा फरक शैलीको उदाहरण सार्वजनिक भएको छ—कम खर्चमा, सीमित साधनस्रोतका बीच गरिएको चुनावी अभ्यासको कथा। कपप्लेट चुनाब चिञ्ह बाट स्वतन्त्र उम्मेदवार बनेकी निरु कुमारीले आफ्नो चुनावी आय–व्ययको विवरण सार्वजनिक गर्दै पारदर्शिताको सन्देश मात्र दिएकी छैनन्, चुनाव लड्न ठूलो धनराशी नै चाहिन्छ भन्ने स्थापित मान्यतालाई पनि चुनौती दिएकी छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा ‘कप प्लेट’ चुनाव चिह्न लिएर स्वतन्त्र प्रतिस्पर्धामा उत्रिएकी निरु कुमारीले चैत्र १५ गते जिल्ला निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण पेश गरिन्। निरुले सञ्चालन गरेको जिनी ब्युटि पार्लर एन्ड ट्रेनिङ्ग सेन्टरको आयश्रोतवाट उनले चुनाबी खर्चमात्रै गरेकी छैनन महोत्तरी क्षेत्र नम्बर १ मा समाजसेवामा सक्रिय पहिचान समेत बनाएकी छिन ।

चुनावी मैदानमा सादगी र इमान्दारितालाई प्राथमिकतामा राखेकी उनको सार्वजनिक विवरणअनुसार, चुनावी अभियानमा सबैभन्दा बढी खर्च सवारी साधनमा भएको छ। दुई दिनका लागि चारपाङ्ग्रे सवारी साधन—स्कार्पियो—भाडामा लिँदा उनले जम्मा ८ हजार रुपैयाँ खर्च गरिन्। चुनावी दौडधुप, गाउँ–गाउँमा पुगेर मतदाता भेटघाट गर्नुपर्ने अवस्थालाई हेर्दा यो खर्च न्यून नै मानिन्छ।
त्यसैगरी, प्रचारप्रसारमा सहयोग गर्ने साथीभाइ तथा समर्थकलाई खाना खुवाउँदा ३ हजार रुपैयाँ खर्च भएको उनले उल्लेख गरेकी छन्। सीमित स्रोतका बीचमा पनि साथ दिनेहरूप्रति कृतज्ञता व्यक्त गर्ने यो अभ्यासले उनको अभियानलाई अझ मानवीय बनाएको देखिन्छ।
प्रचार सामग्रीतर्फ पर्चा, पम्पलेट तथा मसलन्दमा ४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। आजको डिजिटल युगमा समेत परम्परागत प्रचार सामग्रीको प्रयोगले ग्रामीण भेगका मतदातासम्म पुग्न सहज बनाएको उनको बुझाइ रहेको देखिन्छ।
समग्रमा हेर्दा, निरु कुमारीको चुनावी खर्च निकै न्यून देखिन्छ। जहाँ ठूला दलका उम्मेदवारहरूले लाखौं–करोडौं खर्च गर्ने आरोप लागिरहँदा, उनले प्रस्तुत गरेको खर्च विवरणले चुनावी संस्कृतिमा सादगी र पारदर्शिताको नयाँ बहस सुरु गराएको छ।
स्थानीय तहमा समाजसेवामा सक्रिय रहँदै आएकी निरु कुमारीका लागि यो निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र थिएन, बरु जनतासँग नजिकिने, आफ्ना विचार राख्ने र वैकल्पिक राजनीतिक अभ्यास प्रस्तुत गर्ने अवसर पनि थियो।
उनको यो कदमले अन्य उम्मेदवारहरूलाई पनि खर्च विवरण सार्वजनिक गर्न र पारदर्शी बन्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। महोत्तरी–१ को यो सानो तर अर्थपूर्ण प्रयासले नेपाली राजनीति भित्रको ठूलो प्रश्न उठाएको छ—के साँचिकै जनताको विश्वास जित्न ठूलो खर्च आवश्यक छ, कि इमान्दार प्रयास नै पर्याप्त हुन्छ?
