आज्ञा खबर
बर्दिवास
बर्दिवास–१ की एक महिलाले आफ्नै घरको भान्छाबाट सुरु गरेकी सानो अचार व्यवसायले आज सामूहिक उद्योगको रूप लिन पुग्यो। ‘पञ्चधुरा होम मेड अचार कारखाना’ नाम दिइएको यस उद्योगको यात्रा केवल स्वादिलो अचारको सुरुवात मात्रै होईन यो महिलाहरूको आत्मनिर्भरता, संघर्ष र सफलताको प्रेरक कथा हो।
२०८१ सालको असोजदेखि सामूहिक रूपमा सञ्चालनमा आएको यो उद्योग अहिले बर्दिवास नगरपालिकामा महिला नेतृत्वमा सञ्चालित सफल गृह उद्योगका उदाहरणमध्ये एक बनिसकेको छ।
बर्दिवास नगरपालिका १ की प्रतिमा कोईरालाले २०८० साल साउन १५, गते १० हजार रुपैयाँको पूँजीमा अचार बनाउन थालिन्। त्यस समयमा आफ्नो घरको एउटा कुनाबाट अचार पकाएर स्थानीय बजारमा बिक्री गरिन्थ्यो। चाँडपर्वको सिजनमा अर्डर आउने क्रम बढ्दै गयो। उनका अनुसार, “शुद्ध अर्गानिक अचार बनाउने मेरो धारणा थियो, त्यो नै मेरो व्यवसायको विशेषता बन्यो।“
कोइरालाले सुरुमा आँप, कागतीलगायतका अचार बनाउँदै बर्दिवास र आसपासका बजारको पसलहरुमा थोक बिक्री सुरु गरिन्। तर माग लगातार बढ्न थाल्यो। उनको एकल प्रयासले बजार धान्न गाह्रो भयो।
कोइरालाको यो एकल प्रयास सामूहिकतामा बदलिन थालेको थियो। उनले आफ्नै टोल र छिमेकी महिलासँग सल्लाह गर्न थालिन्। यिनै प्रयासका क्रममा उनले सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेब यादवमार्फत इसि नेपालकी सञ्चालक सुनिता नेमाहाफुकीसँग भेट गरिन्।
सुनिताको सुझावमा प्रतिमाले आफ्नो व्यक्तिगत व्यवसायलाई सामूहिक उद्यममा बदल्ने निर्णय गरिन्। उनले आफ्नो सुरुवाती १० हजारको पूँजीलाई ‘लक्की रकम’ मानेर सबै महिला सहभागीलाई पनि त्यतिकै लगानी गर्न प्रेरित गरिन्।
२०८१ साल असोजदेखि उद्योगमा उनका साथमा अन्य १० जना महिलाहरू थपिए र प्रत्येकले १० हजारको सेयर लगानी गरेपछि ’पञ्चधुरा होम मेड अचार कारखाना’ सामूहिक रूपमा सञ्चालनमा आयो ‘सुरुमा उनलाई केही स्थानीयले ‘अचारबाली’ भनेर जिस्क्याउने गर्थे। कोइराला भन्छिन्, “मानिसहरू जिस्क्याउँथे, के अचार बेचेर जीवन बन्छ त! तर आज त्यही मानिसहरू मसँग व्यवसायको सल्लाह माग्न आउँछन्।“
उनले देखाएकी छन्—आत्मविश्वास, निरन्तरता र मेहनतले समाजको सोच बदल्न सकिन्छ। उनको आत्मबल आज बर्दिवासका धेरै महिलाहरूकोलागी प्रेरणा बनिरहेको छ।
अन्य ठाउहरुजस्तै विदेशिने लहर बर्दिवासमा पनि तीव्र छ। धेरै युवा वैदेशिक रोजगारीमा गएका छन्। तर कोइरालाले स्वदेशमै आत्मनिर्भर बन्ने बाटो रोजिन्।
उनको भनाइमा, “विदेश गएर अरूकै अधीनमा काम गर्नुको सट्टा आफ्नै देशमा जानेको काम गरेर स्वाभिमानका साथ बाँच्नुपर्छ।” उनी अहिले ११ जना महिलाको टिमको नेतृत्व गर्दै स्थानीय स्रोतसाधनबाट उत्पादन, बिक्री र ब्रान्डिङको कार्य गरिरहेकी छन्।
हाल यो उद्योगबाट १० प्रकारका अचार, अनरसा, सेलरोटी, पत्रे मिठाई, फापरको पीठो, मकैको च्याख्ला, क्वाँटी मिसावट, मुङको दाना, कोदोको पीठो, र बँसिलो जस्ता परिकार उत्पादन हुन्छन्।
सामग्रीहरूमा रासायनिक पदार्थ नहालिने हुनाले सबै अचार र मिठाई स्थानीय र अर्गानिक ढंगले बनाइने कोइरालाको प्राथमिकता हो। “हामी स्वास्थ्य र स्वादको सन्तुलन मिलाएर बनाउँछौं,“ उनी भन्छिन्।
पञ्चधुरा अचार अहिले बर्दिवास नगरपालिका भित्र मात्र होइन, आसपासका पालिकासम्म पुग्न थालेको छ। चाडपर्वमा त अर्डर पुरा गर्न भ्याइनभ्याइ हुने गरेको कोइरालाको अनुभव छ।
उद्योगसँग ग्राहकको डायरेक्ट अर्डर, मोबाइल अर्डर, र बजारका पसलहरुमार्फत बिक्रीगर्ने व्यवस्था छ। हाल उनीहरूले उद्योगको फेसबुक पेज मार्फत समेत प्रचार प्रसार गरिरहेका छन्।
यसैगरी बुधवार आयोजित एक कार्यक्रममार्फत मधेश प्रदेश संसद शारदादेवी थापाले विधिवत रूपमा रिबन काटेर उद्योग कार्यालयको उद्घाटन गरिन्। कार्यक्रममा बोल्दै सांसद थापाले भनिन्, “महिलाले गरेको यस्तो पहल बर्दिवासका लागि प्रेरणादायी छ। यो आत्मनिर्भरता र सशक्तिकरणको प्रतिक हो।”
उनले बर्दिवास नगरपालिका तथा प्रदेश सरकारले यस्ता उद्योगलाई प्रवद्र्धन गर्न विशेष योजना ल्याउनुपर्ने आवश्यकता औंल्याइन्।
कोइराला र उनकी टिम अब उद्योगलाई थप व्यवस्थित र व्यावसायिक बनाउने योजनामा छन्। उनीहरू आधुनिक प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ प्रणाली सुरु गर्ने तयारीमा छन्।
उद्योगले उत्पादन वृद्धिसँगै स्थानीय महिलाहरूलाई रोजगारीमा जोड्ने लक्ष्य लिएको छ। “अब हामी अन्य महिलालाई समेत प्रत्यक्ष रोजगारी दिन चाहन्छौं,” कोइराला भन्छिन्।
कोइरालाले बर्दिवास नगरपालिकाले उद्यमशील महिलालाई तालिम, सीप विकास, बजारको पहुँच र लगानीमा पहुँच पु¥याउने गरी नीतिगत सहयोग गर्नुपर्नेमा जोड दिइन्।
‘पञ्चधुरा होम मेड अचार’ को यो कथा केवल अचार बनाउने व्यवसायको कथा होइन—यो महिलाहरूको जागरण, सामूहिकताको शक्ति, आत्मनिर्भरताको सम्भावना र सीपमार्फत परिवर्तन ल्याउने संघर्षको कथा हो।
बर्दिवासकी प्रतिमा कोईरालाबाट सुरु भएको यो अभियान आज समुदायका महिलाहरूको साझा यात्राको कथा बनिसकेको छ। यस्ता प्रेरणादायी पहलले नै मुलुकको आर्थिक पुनरुत्थान सम्भव बनाउनेछ।





































