सप्तरीमा खेत बाँझै, किसानको मुहार मलिन — वर्षा नहुँदा रोपाइँ धरापमा

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी

“आकाश हेरेर खेत जोत्न थालेको महिनौं भयो, तर पानीको कुनै अत्तोपत्तो छैन,” – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका किसान रामसागर यादवको पीडा हो यो। असार सकिन लाग्दा पनि पानी नपरेपछि हजारौं किसानका सपनासँगै धानका बिरुवाहरू पनि सुक्न थालेका छन्।

सप्तरीमा लामो समयदेखि वर्षा नहुनु र सिँचाइको भरपर्दो व्यवस्था नहुनुले गर्दा धान रोपाइँमा ठुलो सङ्कट देखिएको छ। साउनको पहिलो सातासम्म जिल्लाभरि मात्र ३२ प्रतिशत रोपाइँ भएको सरकारी तथ्याङ्कले देखाएको छ। यो संख्या परम्परागत रूपमा धान खेतीमा अग्रस्थानमा रहँदै आएको सप्तरीका लागि चिन्ताजनक सूचक हो।

दक्षिण सिँचित, उत्तर सुक्खा

जिल्लाका १८ स्थानीय तहमध्ये, पश्चिमी कोशी नहरले सिँचित दक्षिणी क्षेत्र – हनुमाननगर कंकालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजगढ गाउँपालिकामा लगभग ६० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउत बताउँछन्।

तर मध्य र उत्तरी भागमा अवस्था भयावह छ। कोशी पम्प नहरले सिँचित क्षेत्रको ३२ प्रतिशत मात्र रोपाइँ भएको छ भने बोरिङ र मोटरपम्पमा भर परेको उत्तरमा १५ प्रतिशत रोपाइँ मात्र भएको छ।

“समग्रमा हेर्दा औसत ३२ प्रतिशत रोपाइँ मात्रै भएको हो, जुन अत्यन्तै कम हो,” प्रमुख राउतको भनाइ छ।

सिँचाइ छैन, राहत पनि छैन

धान रोपाइँको मुख्य सिजन असार र साउनको पहिलो पख हुन्छ। तर वर्षा नपरेपछि आकासे पानीको भरमा रहने किसानले खेत सुक्न थालेपछि रोपाइँै छोड्न थालेका छन्। कतिपयले बोरिङबाट सिँचाइ गरेर रोपे पनि बिउ सुक्दै गएका छन्।

गत वर्ष सप्तरीमा २ लाख ७४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। तर यस वर्ष उत्पादनमा भारी गिरावट आउने निश्चितप्राय देखिएको किसानहरूको चिन्ता छ। कुल ८१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा, हालको प्रगतिले खाद्य संकटको आँकडा बढाउने सम्भावना बलियो बनाएको छ।

सरकारी घोषणाको भर छैन

मधेश प्रदेश सरकारले असार २६ गते मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसको व्यावहारिक प्रभाव किसानले महसुस गर्न पाएका छैनन्। कतिपय ठाउँमा खानेपानी वितरण भए पनि कृषकका लागि राहत योजना र सिँचाइको वैकल्पिक उपाय अदृश्य छन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा भन्छन् – “सरकार विज्ञहरूसँग छलफल गर्दैछ। साउन १५ भित्र पानी परेन भने वैकल्पिक बाली र राहत प्याकेज ल्याउन संघीय सरकारसँग समन्वय गर्ने तयारी भइरहेको छ।”

तर किसानहरू चर्को घाम र सुक्खा हावाबीच खेत कुरेर बसिरहेका छन्। योजना कागजमा सीमित हुने हो भने त्यसले संकट टार्न सक्दैन भन्ने उनीहरूको विश्वास हो।

कृषिजन्य अर्थतन्त्र जोखिममा

सप्तरीको अर्थतन्त्रमा धान प्रमुख बाली हो। धानबाट न केवल आत्मनिर्भरता, तर थुप्रै परिवारको दैनिक जीविकोपार्जन चल्ने गर्छ। अब धान नपाउने अवस्था आयो भने कृषिमा आधारित जीवनशैली, बजार, खाद्य सुरक्षासहित सम्पूर्ण संरचनामा असर पर्ने निश्चित देखिन्छ।

सप्तरी मात्रै होइन, मधेसका अन्य जिल्लाहरूमा पनि यही अवस्था छ। यो वर्षा अभावले समग्र मधेसलाई खाद्य असुरक्षाको स्थितिमा लैजाने खतरालाई संकेत गर्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...