बर्दिवासको शिक्षामा समर्पणको साँचो नायक : खडग बहादुर सिंह

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
शिक्षा भनेको केवल किताबी ज्ञान मात्रै होइन, यो जीवनको मूल्य, अनुशासन र समाजप्रतिको जिम्मेवारी सिकाउने माध्यम पनि हो। यस्ता मूल्यवान जीवन बोकेर शिक्षण यात्रामा समर्पित एक नाम हुन—खडग बहादुर सिंह। बर्दिवासको शैक्षिक इतिहासमा उनको नाम श्रद्धापूर्वक उच्चारण गरिन्छ। न कुनै राजनीतिक हल्ला, न कुनै प्रचारको भड्किलो तरिका, उनी आफ्नै सरलता, कर्तव्यनिष्ठा र विद्यार्थीमाथिको समर्पणका कारण बर्दिवासको आदर्श गुरुका रूपमा आज पनि स्मरण गरिन्छन्।

खडग बहादुर सिंहको जन्म २००७ साल श्रावण १५ गते सिरहा जिल्लाको विष्णुपुर गाउँमा भएको हो।
ग्रामीण परिवेशमा हुर्केका सिंह प्रारम्भदेखि नै अनुशासनप्रिय, मेहनती र अध्ययनशील थिए। परिवारको आर्थिक अवस्था औसत भए पनि शिक्षा प्राप्तिमा उनले कहिल्यै सम्झौता गरेनन्। २०२२ सालमा उनले एसएलसी परीक्षा उत्तीर्ण गरे। त्यो समयका लागि गाउँघरमा एसएलसी पास गर्नु चानचुने कुरा थिएन। यसले उनको आत्मबल बढायो र शिक्षण क्षेत्रमा प्रवेश गर्ने ढोका खोल्यो।
एसएलसी पास गरेपछि खडग बहादुर सिंहले उदयपुर जिल्लाको रौता पाबु प्राथमिक विद्यालयमा २०२२ सालमै शिक्षण पेशा सुरु गरे। त्यो बेला गाउँमा शिक्षित जनशक्ति निकै कम हुँने गर्दथ्यो र विद्यार्थीलाई पढाउन भन्दा पनि बुझाउन चुनौती थियो। उनी यस्ता चुनौतीबाट भागेनन्, बरु अझै अडिक भएर आफ्नो कामप्रति समर्पित भए।
२०२३ साल फागुन १० गते सिंहको सरुवा महोत्तरी जिल्लाको तत्कालीन जनता निम्न माध्यमिक विद्यालय बर्दिवासमा भयो। त्यतिबेला बर्दिवास उदयमान गाउँकारुपमा बिकसित हुँदै थियो। विद्यालयको संरचना, जनशक्ति र स्रोतको अवस्था त्यति सन्तोषजनक थिएन। तर सिंहले यसलाई अवसरको रूपमा लिएर अघि बढे।
गणित विषयका शिक्षकको रूपमा उनले बर्दिवासमा शिक्षण कार्यको नयाँ अध्याय सुरु गरे।

२०३५ साल खडग बहादुर सिंहको शिक्षण यात्रामा विशेष वर्ष बन्यो। त्यही साल उनले माध्यमिक शिक्षकको रूपमा बढुवा पाए, र संयोगवश जनता निम्न मा वि बर्दिवास पनि सोही वर्ष माध्यमिक विद्यालयमा स्तरोन्नति भयो। यो दुवै उपलब्धिले सिंहको जिम्मेवारी र प्रेरणामा नयाँ उचाइ थप्यो।
२०३५ सालमै सिंहको सरुवा रामेछापको सिद्धेश्वर माध्यमिक विद्यालयमा भयो। त्यहाँ उनले ८ वर्षसम्म सेवा गरे। ग्रामिण बस्तीमा शिक्षाको ज्योति फैलाउने उनको ध्येयले त्यहाँका विद्यार्थीहरूमा गणितप्रति डर हैन, मोह जगाउन सफल भयो। रामेछापपछि २०४३ सालतिर उनी मकवानपुरको हेटौंडा स्थित सद्धार्थ माविमा सरुवा भए।

हेटौंडा एक शहरी क्षेत्र थियो। त्यहाँको शैक्षिक संरचना, विद्यार्थीहरूको विविधता, र शैक्षिक अपेक्षा ग्रामीण विद्यालयभन्दा भिन्न थियो। तर सिंहले त्यहाँ पनि आफूलाई सजिलै ढाल्न सके। गणित विषयको जटिलतालाई सरल ढंगले बुझाउने उनको शैली त्यस ठाउँमापनि प्रभावशाली बन्यो।
२०४५ सालमा खडग बहादुर सिंह पुनः बर्दिवासको जनता माविमा सरुवा भएर आए। शिक्षण सेवामा झण्डै दुई दशक बिताइसकेका सिंह बर्दिवासमा अब केवल शिक्षक मात्र थिएनन्,उनी त्यस पुस्ताका प्रेरणाकास्रोत बन्दै गएका थिए। उनको पाठनशैली, अनुशासन, विद्यार्थीमाथिको स्नेह र सहकर्मीहरूसँगको समन्वय उदाहरणीय थियो।
२०५० सालमा सिंहको सरुवा महोत्तरीकै खयरमारा स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा भयो। अब उनी केवल कक्षामा पढाउने शिक्षक मात्रै रहेनन्, विद्यालयको सम्पूर्ण प्रशासनिक नेतृत्वको जिम्मेवारी उनकै काँधमा आयो।

प्रधानाध्यापकको रूपमा उनले विद्यालयको भौतिक संरचना सुधारदेखि लिएर पठनपाठनको गुणस्तर वृद्धिसम्ममा सक्रिय भूमिका खेले। विद्यालयमा नियमित शिक्षक अभाव, स्रोतको कमि, अभिभावकहरूको चासोको न्यूनता—यी सबै समस्यालाई उनले सहयोग, संवाद र समर्पणबाट सम्बोधन गरे। २०६० सालमा सिंहको अन्तिम सरुवा महोत्तरीकै हातीलेट स्थित श्री माविमा भयो। त्यहाँ उनले आठ वर्ष सेवा गरे र २०६८ सालमा यही विद्यालयबाट सेवा निवृत्त भए। करिब पाँच दशक लामो शिक्षण यात्रामा उनले जुन कर्मयोग देखाए, त्यो आजको पुस्ताका लागि अनुकरणीय छ।
अवकाशपछि पनि सिंह शिक्षाको मर्मबाट टाढा रहेनन्। उनी हाल बर्दिवास नगरपालिका अन्तरर्गतको शिक्षा समितिका सदस्य हुन्। सामुदायिक विद्यालयहरूको सुधार, शिक्षा नीति निर्माण, विद्यार्थीहरूको शैक्षिक वातावरणको मूल्यांकनमा उनको सुझाव र सहभागिता अझै महत्वपूर्ण रहँदै आएको छ।
हामीसबैका गुरु भनेर बर्दिवासको दोश्रो पुस्ता देखि हालसम्म परिचित खडग बहादुर सिंह केवल पाठ्यपुस्तक पढाउने शिक्षक मत्रै थिएनन्, उनी नैतिक शिक्षा, सामाजिक सद्भाव र जीवनदर्शन सिकाउने गुरु समेत थिए। गणितलाई कथित रूपमा ‘डर लाग्दो विषय’ बाट ‘मन पर्ने विषय’ बनाउनु उनका लागि चुनौती मात्र होइन, जीवनको लक्ष्य थियो।

उनिबाट शिक्षालिने विद्यार्थीहरू भन्छन—“हामीले सिहं सरको कक्षामा डर होइन, आत्मविश्वास भेट्यौं।” उनले ‘गणित सुल्झाउनुअघि मन सुल्झाउनु पर्छ’ भन्ने भावनालाई व्यवहारमा उतारे।

उनका सहकर्मीहरू पनि भन्छन—“खडग सरको अनुशासनले विद्यालयको वातावरण स्वतः अनुशासित हुन्थ्यो। उनी आफैँ समयपालक थिए, र त्यो उनको बानि र ब्यवहार अरूलाई पनि संक्रमित हुन्थ्यो।”
शिक्षक मात्रै होइन, स्रष्टा, सर्जक र समर्पित नागरिकको रूपमा खडग बहादुर सिंहको योगदान अमूल्य छ। शिक्षण केवल पेशा मात्रै होइन, जीवनधर्म ठानेर काम गर्ने व्यक्तिहरूले विद्यालयलाई मात्रै हैन, समाजलाई पनि उज्यालो बनाउँछन्।

आज जब हामी आधुनिक शिक्षा प्रणाली, प्रविधि र नविन पद्धतिको चर्चा गर्छौं, तब पनि खडग बहादुर सिंहजस्ता समर्पित शिक्षकमाथि हाम्रो आश्रितता र सम्मान कम भएको छैन।

उनको शिक्षण यात्राले देखाउँछ—एउटा शिक्षकको समर्पणले कति पुस्ता सम्म उज्यालो हुन्छ। र त्यसैले, बर्दिवास मात्र होइन, सम्पूर्ण मधेश क्षेत्रमा खडग बहादुर सिंह ‘आदर्श गुरु’का रूपमा चिनिन्छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...