आज्ञा खबर
बर्दिवास
“पशुपालन हाम्रो लागि मात्र होइन, सिङ्गो नगरपालिकाको समृद्धिको बाटो हो,“कुश बहादुर स्याङ्गतानले जब आत्मविश्वासका साथ भने त्यो बिहीबारको बिहान उनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। बर्दिवास नगरपालिका–११ को छोड्के बस्तीका स्याङ्गतान लामो समयदेखि पशुपालन गर्दै आएका किसान हुन्। तर, त्यो दिन उनीप्रति गाउँका अन्य किसानहरूको नजर फरक थियो—एक आशावादी अनुहार, आत्मविश्वासले भरिएको व्यक्तित्व।
उनको आत्मबलको स्रोत थियो—त्यही दिन गाउँमै आयोजना गरिएको पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर। यस्तो सेवा सिधै दुर्गम गाउँमै आइपुगेको देख्दा, उनिमात्रै होइन, छोड्के र वरपरका किसानहरू सबैलाई लाग्यो—“अब हामी पछि परेनौं।”
शिविरको दिन बिहानैदेखि गाउँको आधतभुत स्वास्थ्य केन्द्रमा हलचल थियो। बाख्रा र गोरुका घण्टीको आवाजसँगै किसानहरूको उत्साह मिसिएको थियो। कतै खोप लगाइँदै थियो, कतै बन्ध्याकरण गरिँदै थियो। केही किसानहरू पालो कुर्दै थिए। वातावरणमा चिकित्सा र चेतनाको अद्वितीय समिश्रण थियो।
बर्दिवास नगरपालिकाको पशु विकास शाखाले आयोजना गरेको उक्त एकदिने शिविरमा सहभागी किसानहरू भन्छन—“पहिले हामी रोग लागेपछि मात्र उपचारका लागि नगर जान्थ्यौं, त्यो पनि निकै ढिला भइसक्थ्यो। तर, अब अवस्था बदलिएको छ।“
कार्यक्रमका संयोजक तथा पशु विकास शाखाका अधिकृत विमलकान्त यादवले भने, “शिविरको उद्देश्य दुर्गम वस्तीमा गुणस्तरीय पशु सेवा पु¥याउनु थियो। पशुपालक किसानका घरमै सेवा पु¥याएर उनीहरूको समय, लागत र श्रमको बचत गर्नु हाम्रो प्राथमिकता हो।“
शिबिरमा केही घण्टाको सेवा लागे पनि त्यसले पार्ने प्रभाव वर्षौंसम्म टिक्ने खालको देखिन्छ। तथ्यांकहरूले नै यसको पुष्टि गर्छ।
८०० बाख्रालाई पिपिआर खोप ३५० गाईभैसीलाई भ्यागुते चरचरे–२५० को खोप ४० सामुदायिक कुकुरलाई रेबिज खोप १० गोरुबोकालाई बन्ध्याकरण १० गाईभैसीको गर्भ परीक्षण ८०० बाख्रालाई परजिबी नियन्त्रण औषधि (नाम्ले जुकाको) २५० ठूला पशुमा जुकाको औषधि वितरण १३० घरधुरीलाई उन्नत जातको घाँसको बिउ वितरण
शिबिरमा यस्ता सबै सेवा निःशुल्क प्रदान गरिएका थिए। पशुपालक किसानहरूका लागि यो मात्र सेवा थिएन—यो थियो भरोसाको पुनस्र्थापना।
शिविरको अघिल्लो दिन गराइएको अभिमुखीकरण कार्यक्रमले किसानहरूलाई पशु स्वास्थ्यको महत्व, खोपको सही समय, आहार व्यवस्थापन, र नियमित परीक्षणका फाइदाबारे सचेत बनाईएको थियो।
किसान शोमबहादुर बम्जनले भने, “हामीलाई पहिले थाहा थिएन, समयमै खोप लगाउँदा जनावर बाँच्न सक्छ भन्ने कुरा। अहिले थाहा भयो—पशु पनि समयमै उपचार पाउँदा बाँच्दारहेछन्।”
कार्यक्रममा किसानहरूको उपस्थिति उल्लेखनीय थियो।सबैका अनुहारमा आत्मनिर्भरता र नेतृत्वको आकांक्षा झल्किएको थियो। यसले देखाउँछ, पशुपालनले आय आर्जन मात्रै होईन समाजमा सक्षमको माध्यम बन्न थालेको छ।

अधिकृत यादव भन्छन्, “हामी आगामी दिनमा पशु स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं। किसानहरूको सहभागितालाई योजनाको केन्द्रमा राख्ने हो भने, समृद्धिको गति अझ तेज हुन्छ।”
शिविरको अर्को उल्लेखनीय पक्ष के रह्यो भने—यो नगरपालिकाको बजेटमा थप भार नपर्ने गरी आयोजना गरिएको थियो। सरकारी स्रोतको अधिकतम उपयोग, दक्ष प्राविधिक जनशक्ति र स्थानीय सहकार्यको संयोजनबाट कम लागतमा उच्च प्रभाव दिने नमूना कार्यक्रम बनेको हो।
“स्थानीय स्रोत र सहभागिताको सही संयोजन गर्न सकियो भने, सीमित श्रोत साधनमै ठूलो परिणाम ल्याउन सकिन्छ,” अधिकृत यादवको भनाइ छ।
शिविरबाट किसानलाई प्रत्यक्ष लाभ दिनुका साथै दीर्घकालीन प्रभाव पनि प्रस्ट देखिन्छ।
पशु मृत्युदरमा उल्लेखनीय कमी,दूध, मासु उत्पादनमा वृद्धि,किसानको आर्थिक सुधार,स्वस्थ पशुबाट मानव स्वास्थ्यमा सकारात्मक प्रभाव,पशुपालनप्रति विश्वासमा अभिवृद्धि जस्ता फाईदा जनक सेवा भाबले चलाईएको शिविरपछि उत्साहित भएका किसानहरूको एउटै आवाज थियो—“यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुईपटक हुनुपर्छ।” किसान मोहन सिंह भन्छन्, “हामी पहिले उपचारका लागि नगर जान्थ्यौं, एक दिनै लाग्थ्यो। अब गाउँमै सेवा पाइयो, निकै राहत मिल्यो।”
बर्दिवास नगरपालिकाले पशुपालनलाई आत्मनिर्भरता र समृद्धिको आधार मानेर अघि सारेको यो कार्यक्रम अब अन्य पालिकाहरूका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्ने अवस्था देखिएको छ।
स्रोत व्यवस्थापन, नीति स्पष्टता, प्राविधिक तत्परता र जनसहभागिताको संयोजन भए—सानो बस्तीको शिविरले पनि ठूलो अर्थ राख्न सक्छ। छोड्केमा आयोजित यो शिविर एउटा प्राविधिक कार्यक्रम मात्र थिएन, यो विश्वास निर्माणको प्रक्रिया थियो। जब सेवा जनताको नजिक पुग्छ, उनीहरूको जीवन बदलिन थाल्छ। यो अभियानले देखाएको छ—नेतृत्व, नीति र निष्ठाको समुचित समन्वय भएमा—सामान्य देखिने पहलहरूले पनि स्थानीय समृद्धिको गतिलाई नयाँ आयाम दिन सक्छन्।





































