निकेश खनाल
बर्दिवास
बिहानदेखि साँझसम्म यात्रुहरूको चहलपहल रहने बर्दिवास–जलेश्वर सडकखण्डको सडक किनारमै रहेको बस काउन्टर छेउबाट मकै पोलिएको मीठो बास्ना आउँछ। त्यो बास्ना कुनै ठूला रेस्टुरेन्टको होइन, एउटा सानो फुटपाथ पसलको हो। जहाँ ४९ वर्षीया जयकलदेबी मुखिया (चौधरी) चार वर्षदेखि हरियो मकै पोल्दै जीवन गुजारिरहेकी छिन्।
फुटपाथको छेउमा सानो टोकरी, मकै राख्ने थोरै ठाउँ, नुन खुर्सानीको मसला, र एक थान मुस्कान लिएर बस्ने जयकलदेबीको संसार त्यहीँ सीमित छ। तर त्यो सानो पसल उनको आत्मनिर्भर जीवनको ठुलो आधार हो। श्रीमानको २५ वर्षअघि निधन भएपछि जीवनको सम्पूर्ण जिम्मेवारी एक्लैले बोकिरहेकी मुखिया जीवनका हरेक मोडमा संघर्षरत रहिन्।
चार सन्तानमध्ये दुई छोराको सानै उमेरमा निधन भयो। एक छोरा भारतमा रोजगारीको सिलसिलामा सम्पर्कविहीन छन्। अहिले उनी कान्छो छोरासँग बस्छिन्, जसले विद्यालय तहको पढाइ सकेर वैदेशिक रोजगारीको तयारी गरिरहेको छन्।
“फुटपाथमै भए पनि आफ्नो पसिना बगाएर खानु नै राम्रो,” मुखियाको दृढ स्वर सुन्न सकिन्छ।
संघर्षको यात्राः बिहानदेखि साँझसम्म मकैसँगै
जयकलदेबीको दिन सधैं बिहान सबेरै सुरु हुन्छ। स्थानीय किसानहरूबाट हरियो मकै किनेर ल्याउने, त्यसलाई छानेर तयार पार्ने, अनि फुटपाथमा गएर मकै पोल्न सुरु गर्ने। आरामको समय भने छैन। गर्मीका दिनमा उनी दैनिक ८० देखि १०० मकै बेच्छिन्। एउटा मकैको मूल्य औसत रु.२०–२५ रुपैयाँपर्ने हुँदा दैनिक रु.१६०० देखि २००० रुपैयाँसम्म आम्दानी हुन्छ।
तर यो आम्दानी स्थिर छैन। वर्षा, प्रशासनको दबाब, र फुटपाथ व्यवस्थापनका समस्याहरूले उनको कामलाई
प्रभावित पार्छन्। “प्रशासन आउँछ, सामान उठाएर हट्नुपर्छ। कहाँ जानु? यही फुटपाथ नै त हाम्रो रोजीरोटीको थलो हो,”उनी भन्छिन्।
फुटपाथ खाली गराउँदा वा बजार व्यवस्थापन समितिले स्थान परिवर्तन गर्न खोज्दा हामी जस्ता साना व्यापारीहरू समस्यामा पर्छन्। “नगरपालिकाले हामीजस्ता साना व्यापारीलाई व्यवस्थित रूपमा बस्ने स्थान दिइदिएको भए, हामी पनि सजिलैसँग आफ्नो काम गर्न सक्थ्यौं,”उनको गुनासो छ।
पसिनाको स्वाद मिसिएको मकै
जयकलदेबीको मकै विशेष स्वादका कारण ग्राहकहरूबीच परिचित छ। मसला सामान्य—नुन र खुर्सानी मात्रै भएपनि तिनमा मिसिएको इमानदारी, संघर्ष, र पसिनाको स्वादलेगर्दा स्थानीय मात्रै होइन, बर्दिवास आउँने पर्यटकहरू पनि उनको मकै खान रुचाउँछन्।
“दिदीको मकैमा छुट्टै स्वाद छ। म जहिले बर्दिवास आउँछु, एकचोटि पक्कै खान्छु,” एक नियमित ग्राहकले बताए। मकै बेच्दै गर्दा मुखियाले सदैव मुस्कानसाथ ग्राहकको स्वागत गर्छिन्। उनको मृदु व्यवहार र सेवा भावले गर्दा उनी एक प्रेरणादायी व्यक्तित्व बन्न पुगेकी छिन्।
सामाजिक–आर्थिक विडम्बना र सम्भावना
जयकलदेबी जस्ता स्वरोजगारमा आधारित महिलाहरू नेपालका कुनाकाप्चामा हजारौं छन्, जसले आफ्नो श्रमको बलमा जीवन धानिरहेका छन्। तर, सुरक्षित व्यापारिक स्थानको अभाव, प्रशासनिक असहयोग, र कानुनी सुरक्षाको कमीले उनीहरूको संघर्षलाई झन् जटिल बनाइरहेको छ।
“हामी कसैको करुणा माग्दैनौं, बस् एउटा अवसर चाहिन्छ,” उनी भन्छिन्। उनको यही वाक्यले यथार्थको गहिराइ झल्काउँछ। तिनै तहको सरकार र सम्बन्धित निकायहरूले यस्ता साना व्यापारीका लागि आधारभूत सुविधा—व्यवस्थित व्यापार क्षेत्र, कानुनी संरक्षण र सस्तो ऋण पहुँच जस्ता कार्यक्रम ल्याउन सके, जयकलदेबीहरूको संघर्ष सहज बन्न सक्छ।
जयकलदेबी अहिले पनि हरेक दिन मकै पोलिरहेकी छिन्। फुटपाथमै भए पनि आफ्नो आत्मसम्मान र श्रममा गर्व छ,उनलाई आफ्नो सन्तानको भोलि राम्रो होस् भन्ने चाहना उनीसँग छ। “म मेहनत गर्छु, तर मेरो छोराले चाहिँ यसरी फुटपाथमा बस्न नपरोस् भन्ने चाहन्छु,” उनी भन्छिन्।
जयकलदेबी मुखियाको कथा केवल एउटा सानो मकै पसल चलाउने महिलाको होइन। त्यो हो—सामाजिक र आर्थिक विषमताविरुद्धको एक मौन संघर्ष। त्यो संघर्ष, जुन पिच्किएको मकैको पातजस्तै हो—बाहिरबाट सामान्य देखिए पनि भित्र मिठास, तातो स्पर्श, र सच्चा श्रम मिसिएको हुन्छ।
त्यस्ता आमाहरू, जो सडक छेउमा बस्छन् तर देशको भविष्य निर्माणमा समर्पित छन—तिनीहरू नै नेपालको साँच्चिकै मेरुदण्ड हुन्। उनीहरूको जीवनलाई सुरक्षित र सम्मानित बनाउन सक्ने राज्य र समाजले साँच्चिकै समावेशी विकासको बाटो समातेको मान्न सकिन्छ।





































