आज्ञा खबर
बर्दिवास
निजामती सरकारी सेवामा झण्डै तीन दशक भन्दा बढी समय बिताएर उपसचिवको जिम्मेवारीबाट अवकाश पाएका बर्दिवास नगरपालिका ३ कालापानी निवासी रामकुमार कार्कीको जीवन अहिले पुरै फेरिएको छ। पहिला बिहान अफिस पुग्ने हतारो हुन्थ्यो, आजभोलि बिहानको सुरुवात भने करेसाबारीतर्फका पाइला अगाडि बढाउँदै सुरु हुन्छ।
धेरैजसो मानिसहरूका लागि अबकासको जीवन विश्रामको प्रतीक हो। तर कार्कीका लागि यो समय भने प्रकृतिसँगको आत्मीयता गाँस्ने अवसर बनेको छ। बिहान ५ बजे नै उठेर उनी आफ्नो करेसाबारीमा लाग्छन्। सानो घाँसे आँगनदेखि सुरु हुने उनको दिन अहिले घिरौला,बोड्ी,भिन्डी लगायत तरकारीका बिरुवा हेर्दै, मलजल गर्दै बित्छ।

“सरकारी कामकाजको चापमा कहिल्यै खेतबारीलाई समय दिन सकिएन,”कार्की भन्छन्,“अब भने आत्मसन्तुष्टि यहीं भेटिएको छ।”उनको करेसाबारी आफ्नै घर नजिकै फैलिएको छ। जीवनभरि नीति निर्माणमा लागेका कार्की अहिले प्रकृतिको अनुशासनमा रमाइरहेका छन्।
प्रभातकालिन समय उनले शारीरिक श्रममा बिताउँछन्। बिहानको चिसो बतास, पन्छीको चिरबिर आवाज र हरियालीबिचको करेसाबारीले उनलाई एक प्रकारको मानसिक सन्तुलन दिएको छ। कहिलेकाहीँ छिमेकी बालबालिकालाई तरकारीको नाम सिकाउँदै वा कसरी अर्गेनिक कम्पोस्ट मल बनाउने भन्ने ज्ञान बाँड्दै गरेको देखिन्छन् उनी।“कागजका फाइलमा व्यस्त जीवन जिउँदा थाहै भएन, माटोसँग कुरा गर्दा पो शान्ति मिल्दोरहेछ,”उनी मुस्कुराउँदै भन्छन्।
कार्कीको अबकास अब विश्राम मात्र होइन, पुनः आविष्कारको समय बनेको छ। उनी भन्छन्, “अहिले लाग्छ, जीवनको यो पाटो अझै अर्थपूर्ण छ — जहाँ म आफ्ना हातले उत्पादन गर्छु, आफ्नै श्रममै रमाउँछु।”





































