नेपाली कांग्रेसको‘समुदायमा कांग्रेस’अभियान आजदेखि

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसले मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडासम्मै पुगेर जनताका कुरा सुन्न यो अभियान चलाएको हो ।

कांग्रेसको वडा केन्द्रित अभियान पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म चल्ने बताइएको छ । केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियान अन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७ सय ५३ वटै स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटिने छन् । पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य समेत गाउँ–गाउँ पुगेर जनताका समस्या, गुनासा र सुझाव संकलन गर्ने छन् ।

अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने कार्यसूची बनाएको छ । जनताका अपेक्षा, सुझाव र गुनासो र सुझावलाई सम्बन्धित तहका सरकारमा लैजाने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।

जनताका समस्यालाई पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी समाधान खोजिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहल गर्ने कग्रेसको योजना छ ।
पार्टीसँग सम्बन्धित सुझावहरू, गुनासा र सल्लाहलाई भने आगामी महासमिति बैठकमा छलफलको विषय बनाएर अघि बढ्ने अभियानले संविधानको भावनाअनुसार समुदायका बिचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने कांग्रेसले जनाएको छ ।

अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने तयारी छ ।

अभियानअन्तर्गत माघ १३ र १४ गते सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगेर जिल्ला कार्यसमितिको विस्तारित बैठक बसाउने कार्यसूची छ भने अभियानको प्रारूप, उद्देश्य र कार्यक्रमका विषयमा छलफल गर्ने र प्रतिनिधि तोक्न परिपत्र गरिएको छ ।

त्यस्तै, माघ १५ गते सबै वडा कार्यसमितिको बैठक बस्ने र माघ १६ गते सहिद दिवसको अवसर पारेर ६ हजार ७ सय ४३ वटै वडामा समुदायमा कांग्रेस अभियान प्रारम्भ हुने केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार वडास्तरमा माघ १६ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् भने माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको समापन हुनेछ ।

अभियानका क्रममा हुने कार्यक्रममा आसन ग्रहण र भाषणका कार्यक्रम नहुने कांग्रेसले जनाएको छ ।