प्रहरीकै अगाडि बोक्सी आरोपमा वृद्धामाथि दुर्व्यवहार

[sharethis-inline-buttons]

बर्दिवास, फागुन ७ गते ।

एक वृद्धालाई कम्मरदेखि माथिल्लो भाग निर्वस्त्र पारेर सडकमा राखिएको छ । वरिपरि मानिसहरु रमिता हेरिरहेका छन् । त्यही ठाउँमा एक जना प्रहरी जवान लठ्ठी लिएर घुमिरहेका छन् । माघ १५ गते रातको झण्डै साढे ९ बजे मोरङको रंगेली–२ ववियाबिर्ताकी ६८ वर्षीय मानतीदेवी साहलाई छिमेकीसहितका आफन्तले बोक्सीको आरोपमा सामूहिक रूपमा गरेको दुर्व्यवहारको भिडियोमा देखिएको दृश्य हो यो ।

पीडित पक्षका अनुसार त्यस रात मानतीदेवी साहलाई उनीहरुले दुर्व्यवहार मात्रै गरेनन्, निर्घात कुटपिट पनि गरेका थिए । उक्त घटनाको हालै सार्वजनिक भिडियोमा देखिए अनुसार धामी भन्ने महिलालाई एक स्थानीय युवा भन्दैछन्, ‘तेरो आफ्नो शक्ति देखाउ, यो बुढियालाई नचाएर देखाउ ।’ती वृद्धाको छेउमा एक महिला शरीर कमाएर भन्दैछिन्, ‘उठ ! तँ नाच !’ उक्त दृश्यलाई निरीह बनेर हेरिरहेका प्रहरीले ती महिलाको शरीरमा कपडा लगाइदिन आग्रह गर्छन् तर, उनको आग्रहलाई कसैले वास्ता गर्दैनन् ।

आफूलाई धामी भन्ने ३० वर्षीया रिङ्कीदेवी साह कपाल फिँजाएर ती वृद्धालाई ‘देउता’ नचाउन लगाइरहेकी छन् । ‘उठ ! तँ छिटो उठ,’ चिच्याउँदै रिङ्की बर्बराउँछिन्, ‘माया लाग्दैछ, तँ मेरो छोरालाई खाइस् अब पछुताउँदैछस् ।’ पीडित वृद्धालाई बुहारीले उठाउन खोज्दा कथित धामी रिङ्कीले उठाउन दिन्नन् । यी सबै दृश्य हेरिरहेका ती निरीह प्रहरी कसैलाई फोनमा भन्छन्, ‘यहाँ बोक्सीको आरोपमा ऊ हुँदैछ, छिटो आउनु ।’केही समयपछि वृद्धालाई प्रहरीले छुट्याएर घर लैजान आदेश दिन्छ । तर, उनी उठ्न सक्दिनन् र पुर्लुक्क लड्छिन् ।

कथित धामी रिङ्कीदेवीलाई वृद्धाको अवस्था र प्रहरीको आदेशले केही फरक पर्दैन । उनी ती वृद्धाको वरिपरि अगरबत्ती बालेर घुमाइरहन्छिन् ।यातना तथा दुर्व्यवहारबाट घाइते भएकी वृद्धालाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारपछि घर लगिएको छ । उनी अत्यन्तै कमजोर अवस्थामा छिन् । बोक्सीको आरोपमा मानतीलाई रिङ्कुदेवीका अतिरिक्त उनकै देवर कृष्ण साह, सञ्जय साहसहित ६/७ जनाले निर्घात कुटपिट गरेको पीडितका छोरा शिवकुमार साहले बताए ।

पीडित परिवारका अनुसार त्यस रात मानतीलाई ६/७ जनाले कुटपिट गरे पनि प्रहरीले रिङ्कुदेवीलाई मात्र पक्राउ गरेको छ । कुटपिटमा संलग्न रिङ्कुदेवीको देवर सञ्जय र कृष्णलाई भने पक्राउ नगरेको भन्दै आफन्तले प्रहरीको आलोचना गरिरहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीले रिङकुदेवीलाई मोरङ जिल्ला अदालतमा पेस गरी अनुसन्धान सुरु गरेको छ । ‘१५ माघ राति रिङ्कुदेवी, उनका देवरसहित ६/७ जना आएर हाम्रो छोरालाई खाइस् भन्दै आमालाई ओछयानबाट तान्दै आँगनमा ल्याएर निर्घात कुटपिट गरे,’ पीडितका कान्छा छोरा शिवकुमारले भने, ‘त्यस दिन म घरमा थिइनँ ।

आमालाई आँगनमा ल्याएर सामूहिक रुपमा कुटपिट गर्नुका साथै पानी माग्दा पनि बोक्सीलाई पानी दिनु हुँदैन भन्दै थुक्दै कुटेछन् ।’
आमालाई थप पीडा हुँदै गएपछि पानी–पानी भन्न थालेपछि रिङ्कुसहित उनका देवर सन्जय र कृष्णले अगरबत्तीले मुखमा झोसिदिएको छोरा शिवको भनाइ छ । घाइते मानतीदेवीको घरबाट रिङ्कीदेवीको घर करिब एक सय मिटर दक्षिणमा पर्दछ । उक्त घटनाको करिब तीन साता अघि रिङ्कुदेवीको आफन्तको नवजात शिशुको मृत्यु भएको थियो । सोही नवजात शिशुको मृत्युमा बोक्सीको हात रहेको भन्दै मानतीदेवी माथि कुटपिट तथा दुर्व्यवहार भएको हो ।

गाउँमा अरूलाई पनि बोक्सी मन्त्र लगाइस् र संकटमा पारिस् भन्दै जथाभावी कुटपिट गरेको छोरा शिवले बताए । आमाको शरीरभरी लाठीको चोट रहेको उनको भनाइ छ ।घटना बाहिरिएपछि कृष्ण र सञ्जय फरार छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले घटनामा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए । घटनामा संलग्न रहेका भनिएका अन्यको खोजी भइरहेको उनको भनाइ छ । रातोपाटी