आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशमा सरकार गठनविरुद्ध सात दलीय गठबन्धनको विरोध बुधबार पनि जारी रहेको छ। जनकपुरधामस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गर्दै उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको आरोप लगाएका छन् र उनको तत्काल बर्खास्तीको माग गरेका छन्।
बुधबार पनि निरन्तर धर्ना कार्यक्रम चलाएका सात दलका नेता तथा कार्यकर्ताले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कदमले संविधानको मर्म र विधि प्रक्रियाको उल्लंघन गरेको बताएका छन्। उनीहरूका अनुसार केन्द्र सरकारले भण्डारीलाई पदमुक्त गरिसकेको अवस्थामा उनले नयाँ मुख्यमन्त्री नियुक्त गर्नु नै असंवैधानिक कदम हो।
जसपा नेपाल मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले विरोधको लक्ष्य कुनै व्यक्ति होइन, संविधानविपरीत भएको प्रक्रिया भएको स्पष्ट पारे। उनले भने, “संविधान र लोकतान्त्रिक मूल्यको रक्षा गर्न हामी सडकमा उत्रिएका हौं। अब सर्वोच्च अदालतले नै न्याय दिनेमा हामी विश्वस्त छौं।”
मधेस प्रदेशमा नयाँ सरकार गठनविरुद्ध दायर गरिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतले आइतबार अन्तरिम आदेशमाथि छलफल गर्ने मिति तय गरेको छ।
यसअघि मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्ने क्रममा पनि जनकपुरधामस्थित मधेस भवन अगाडि सात दलका नेता, सांसद र कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ूसंविधानको रक्षा गर, असंवैधानिक सरकार हटाऊू जस्ता नारासहित प्रदर्शन गरेका थिए।
