आज घर–घरमा फुलपाती,भित्र्याइदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
आश्विन शुक्ल सप्तमीका दिनमा प्रत्येक वर्ष मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघरको पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत आज भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत परीचित फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता पर्देन ।

आज हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहदै आएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने हिन्दुहरुको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि देशभरका सरकारी कार्यालय पनि बिदा दिने चलन रहिआएको छ।
आज बिहानैदेखि देवीका मन्दिर तथा शक्तिपीठमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ ।

आश्विन शुक्ल पक्षका दिन शक्तिपीठमा गई पूजा आराधना एवम् साधना गरेमा देवी प्रसन्न भई मनोकामना पूर्ण गर्नका लागि भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज काठमाडौँ उपत्यकाका एवंम देशभरीका शक्तिपीठहरुमा बलिसहित विशेष पूजा गर्ने भक्तजनको पनि भिड लाग्ने गरेको छ ।

घटस्थापनाका दिन दसैँघर अथवा पूजाकोठामा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी राखिएको जमरामा सातौ दिन आज नवदुर्गाको छैटौँ रुप कात्यायनीको पूजा आराधना गर्ने गरीएको छ ।