मधेसका नवनियुक्त ३ जना मन्त्रीले शपथ लिए

[sharethis-inline-buttons]

धनुषा:जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएको डेढ महिनापछि आज मङ्गलवार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहित सरकार विस्तार गरिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी भए ।

कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आज मधेस भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गएकाे चैत २१ गते एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको थियो । मधेस–प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाले मुख्यमन्त्री यादवसमक्ष सामूहिक राजीनामा दिएका थिए । एक मन्त्री पाउने सहमति भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएको छैन । रासस