निर्वाचनले नछोएको मुसहर बस्ती

[sharethis-inline-buttons]

धनुषा

आसपासका बस्ती र टोलमा भोट माग्दै उम्मेदवारहरूको दौडधुप चलिरहेको छ । फुसका छाप्राहरू मात्रै देखिने मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुल्सियाही मुसहरी बस्ती भने सुनसान लाग्छ । बुधबार यो बस्तीमा पुग्दा बालबालिका र ज्येष्ठ नागरिक मात्रै भेटिए ।

खासमा यहाँका मतदातालाई निर्वाचनको रन्कोले किन छोएन त ? ‘सबैजना धान काट्न बिहानै निस्किसके । अब साँझ मात्रै फर्किन्छन्,’ चिसो छल्न घाम ताप्दै गरेकी एक वृद्धले भनिन्, ‘चुनावले के दिन्छ हामीलाई ? त्योभन्दा पहिला पेटको सवाल छ ।’ नेताको आश्वासनले भोक नमेटिने बताउँदै उनले खान मजदुरी गर्नैपर्ने भएकोले मुसहरीका कोही पनि चुनावी प्रचारमा नलागेको सुनाइन् ।

 

यद्यपि हरेक पटकको निर्वाचनमा उनीहरू भोट खसाल्न भने पुग्ने गरेका छन् । तर, सकारात्मक परिवर्तनको सट्टा हरेक पटक ठगिएको महसुस गर्छन् । जंगल काटेर पुग्नुपर्ने यो बस्तीका बासिन्दा चार पुस्तादेखिको लालपुर्जा मागिरहेका छन् । तर, उनीहरूको आवाज बनिदिन अहिलेसम्म सांसद बनेर गएकाहरू कोही उभिएका छैनन् । यसपालि त खेतमा मजदुरी गर्ने मुसहरलाई भेट्न नेता र उम्मेदवारले समय नै दिएनन् । यसबाट दल र उम्मेदवारहरूका लागि मुसहर बस्ती र समुदाय कति प्राथमिकतामा छन् भन्ने स्पष्ट हुन्छ ।

 

तुल्सीयाहि मुसहरी बस्तीमा २२ परिवार मुसहर छन् । १३१ जनाभन्दा बढी मुसहर पुस्तौंदेखि झुपडीमै बस्दै आएका छन् । झुपडीले ओगटेको जग्गाको लालपुर्जासमेत उनीहरूसँग छैन । हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन बाँड्ने नेताहरूले मुसहर समुदायलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आएको उनीहरूको गुनासो छ । ‘धान भित्राउने सिजन छ । बस्तीका सबै जना धान काट्न जान्छौं । बस्तीमा को आयो गयो थाहा छैन,’ ४४ वर्षीया वीरमादेवी सदाले भनिन्, ‘नेता आउँछन् भनेर घरमा कुरेर को बसोस् ? मजदुरी नगरे साँझ–बिहानको छाक टर्दैन ।’

 

वीरमादवीका श्रीमान्को भारतमा रोजगारीका क्रममा १२ वर्षअघि मृत्यु भएको थियो । अहिले उनी र छोरा दैनिक ज्यालादारीमा खेतमा काम गर्न जान्छन् । त्यही आम्दानीबाट गुजारा चलाउँछन् । काम नपाउने दिन उनलाई छाक टार्नै मुस्किल पर्छ । ३ छोरी र २ छोरासहितको उनको परिवार एउटै छाप्रोमा बस्छन् । आफ्ना समस्या देख्ने कोही नभएकाले यसपल्ट उनी निर्वाचनकै दिन पनि भोट हाल्नुको सट्टा धान काट्नै जाने बताउँछिन् । ‘चुनाव आउँदा उम्मेदवारहरू भोट माग्न आउँछन् र सबथोक भोलि नै परिवर्तन भइहाल्छजस्तो पार्छन्,’ उनी निराश सुनिइन्, ‘तर जितेर गएपछि न हामीलाई चिन्छन्, न हाम्रो अवस्था नै ख्याल गर्छन् ।’ अहिलेसम्मका हरेक निर्वाचनमा भोट राखेर जिताए पनि कसैले केही नगरेको उनले गुनासो गरिन् ।

 

बस्तीका सबै २२ परिवारले पिउने पानीका लागि एउटा चापाकल प्रयोग गर्छन् । ‘हामीलाई गरीब र दलित भनेर सबैले हेप्छन्,’ उनले भनिन्, ‘नत्र वरपरका धनीमनीका घरमा सरकारी अनुदानमा नयाँ कल गाडिँदा सरकारले हामीलाई किन देख्दैन ?’ मुसहर बस्तीमा शौचालयको पनि सुविधा छैन । उनीहरू खेतबारी, चौरलगायत खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन् । रातमै शौच गर्न जानुपर्दा असुरक्षित महसुस हुने बताउँदै उनले भनिन्, ‘वरिपरिको मान्छे कति गाली बेइजती गर्छ, भनिसाध्य छैन ।’

 

स्थानीय सिताली सदाका ३/३ जना छोराबुहारी छन् । छाप्रोलाई ३ भागमा बारेर छोराहरू सुत्छन् । सितालीलाई बाहिर तिरपालले ढाकेको अर्को छाप्रो छ । ‘प्रत्येक निर्वाचनअघि नेताहरूले हामी सबैलाई शौचालय, पानी खान कल, घर बनाइदिने वाचा गर्छन्,’ सितालीले भनिन्, ‘घर नहुँदा वर्षा र शितलहरीमा सुत्न गाह्रो हुन्छ ।’ सितालीलाई कानको समस्या छ । श्रवण शक्ति कमजोर छ । उपचार गराउन आफ्नो आर्थिक अवस्थाले भेट्दैन । त्यसैले उपचारका लागि सहयोग माग्दा नेताहरूले वास्ता नगरेका उनले गुनासो गरिन् । ‘स्थानीय नेताहरूलाई उपचार गर्न सहयोग गरिदिनुस् भनेर अनुरोध गरें, कसैले वास्ता गरेनन्,’ उनले भनिन्, ‘उनीहरूलाई भोट चाहिँदा हामी गइदिनुपर्ने, अनि हामीलाई उनीहरू चाहिँदा चाहिँ हेर्नु नपर्ने ?’

 

बस्तीका सबजसो छाप्रोबाहिर खाना पकाउँछन् । आगो बाल्दा छाप्रो जल्नसक्ने र साँघुरो पनि भएकाले उनीहरूलाई बर्खा, हिउँद जस्तोसुकै मौसममा पनि यसको विकल्प छैन । खाना पकाउन चाहिने दाउराको पनि समस्या हुन थालेको उनीहरू बताउँछन् । दाउरा खोज्न अप्ठेरो हुन थालेको ६० वर्षीया शैलदेवी सदाले सुनाइन् । शैलदेवीका २ वटा छाप्रा छन् । जहाँ १२ जनाको परिवार कोचाकोच भएर बस्दै आएको छ । छोराबुहारी भित्र सुत्छन् भने उनी आँगनमा कपडाले घेरेर सुत्छिन् । ‘बस्नै नमिल्ने ठाउँ छ, अनि कहाँबाट भान्सा हुनु ?,’ उनले भनिन्, ‘आगो बालौं जल्ला भन्ने पीर पनि त छ । हाम्रा जति समस्या कसका होलान् ? तर, यसबाट मुक्ति दिलाउने कोही भएनन् ।’-कान्तिपुर