मनिका झा
जनकपुरधाम
दसैंको रौनक मुलुकभर छ। आ–आफ्नो रीतिरिवाज र परम्पराअनुसार देशका विभिन्न भागमा यो वर्ष मनाइँदैछ। मिथिलामा भने लोकनाच, सांस्कृतिक झाँकी र धार्मिक अनुष्ठानले दसैंलाई अझ रोमाञ्चक र अलौकिक बनाउँछ।
साँझ पर्नेबित्तिकै झिझियामा मिथिला झुम्न थाल्छ। यसका गीतहरूले गाउँ र सहर गुञ्जायमान हुन्छन्। नृत्य हेर्नेको भीडले शक्तिपीठहरू भरिन्छन्।
घटस्थापनाको दिन एकातर्फ घरघरमा जमरा छर्ने र माता नवदुर्गाको पूजाको तैयारी गरिन्छ। अर्कोतर्फ मिथिलाका मुसहर, चमार, तेली, कुम्हारलगायतका जातिका महिला र पुरुष झिझिया बनाउन व्यस्त हुन्छन् ।
आकर्षक झिझिया बनाउन निकै मेहनत लाग्छ। ‘हामी पाँचवटा घैंटो एउटै झिझियामा गाँभेर भव्य आकार बनाउँछौं त्यसैले मेहनत बढी लाग्छ,’ नगराइन नगरपालिका-९ घोडघाँसका विनोद पासवान भन्छन्, ‘एउटा झिझिया तयार गर्न कम्तीमा एक साताको समय लाग्छ। हामी घटस्थापनाको एक साता अगाडिदेखि नै झिझिया सजाउने काममा लागिहाल्छौं।’
घटस्थापनाका दिन गाउँ वा सहरका ब्रह्मस्थान (गाउँमा रहेका देउताको मुख्य मन्दिर) मा पूजा आराधना गरिन्छ। झिझिया टाउकोमा राखेर नृत्य गर्नुपूर्व धामी ओझाबाट यसलाई मन्त्रद्वारा सिद्ध गरिन्छ। भनिन्छ, झिझियालाई बोक्सीको आँखाबाट बचाउन धामीद्वारा छेकबार गरिन्छ। यसपछि विधिवत् रूपमा झिझिया खेल्न सुरु हुन्छ।
तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा
बालक तोहर किछियो ने जनैछौं हो………..
यस्ता गीत गाउँदै घैंटोमाथि बलिरहेको आगोको डल्लो टाउकोमा राखेर किशोरी र महिला मज्जाले नाच्छन्। तर, झिझिया नाच्न भने सबैले सक्दैनन्। त्यसका लागि निकै अनुभवी र राम्रो तैयारी गरेका महिलालाई नै जिम्मेवारी दिइन्छ। पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्य सोचे जति सजिलो छैन। पछिल्लो पाँच वर्षदेखि झिझिया नाच्न थालेकी सुनिता सदा भन्छिन्, ‘देवी माताप्रति पूरा विश्वास लिएर मनमा आँटका साथ झिझिया टाउकोमा उठाउँछु। यो नाच गर्दा मन खुसी हुन्छ। यसले आफ्नो घर परिवार र सन्तानलाई आशीर्वाद पाउँछ भन्ने मनमा भावना लिएर नाच्छु।’
सुरुवातमा झिझिया लिएर नाच्दा सुनिता घाइते पनि भएकी थिइन्, ‘पहिलापहिला त टाउँकोमा आगो सल्केर जल्छु कि। घैंटो भुइँमा झर्छ कि भनेर निकै डर लाग्थ्यो,’ सुनिताले विगतको अनुभव सुनाउँदै भनिन्, ‘एकपल्ट त झन्डै कपाल डढेन। घैंटोमा बलेको दियोभित्रै झरेर सबै तेल टाउकोमा पोखिएको थियो बल्लतल्ल बचे। तर, विस्तार प्रयास गर्दै गएपछि अब राम्ररी नाच्ने भएको छु।’
आफ्नै सुर र तालमा नाचिने यस लोकनृत्यको क्रममा असंख्य प्वाल पारिएको घैंटोभित्र दियो बालेर टाउँकोमा राखी महिलाहरू नाच्छन्। महिलाहरूको टाउकोमा राखिएको घैंटोको प्वाल यदि कसैले गन्न सफल भयो भने झिझिया नाच्ने महिलाको मृत्यु हुन सक्छ भन्ने मान्यता पनि छ। त्यसैले पनि यो गीत निकै झुम्ने खालको र तीव्र गतिमा गाउने र नाच्ने गरिन्छ। नाच सक्ने बित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ।
भिझिया प्रायःजसो महिलाद्वारा गरिने नृत्य भए पनि यसमा पुरुषहरूको पनि उलेख्य सहभागिता रहन्छ। गाउँघरमा भिझियामा १५-२० जनाको समूहले पारम्परिक वाद्यवादनहरू ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन्। प्रत्येकको घरघरमा गई समूहले नृत्य गर्ने गरेको र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामलदाल सहयोग गर्ने गर्छन्। भिझिया तन्त्रमन्त्र र जादुटोनाको परिचायक मान्ने गरिएको छ।
समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले यो अनौठो नृत्यको प्रदर्शन गर्न थालिएको इतिहासकारहरू बताउँछन्। तर, पछिल्लो समय झिझिया बोक्सी भगाउने गीतभन्दा पनि लोकसंस्कृतिको परिचायकको रूपमा गाउन र नाच्न थालिएको साहित्यकार रामभरोष कापडी बताउँछन्।
‘आफ्नो मौलिकता बचाउन र लोकसंस्कृतिको संरक्षणका लागि झिझिया नृत्यको जगेर्ना नयाँ पुस्ताले गर्नु निकै आवश्यक छ,’ साहित्यका कापडी भन्छन्।
तर, अन्धविश्वासभन्दा पनि सांस्कृतिक जगेर्नाका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षक मनोज झा बताउँछन्। भन्छन्, ‘यो मिथिलाको निकै लोक महŒवको नृत्य हुनाले यसलाई मात्र अन्धविश्वासका लागि प्रयोग गरिएको भन्दै लोप हुने खालको क्रियाकलाप गर्नु हुँदैन।
झिझिया नृत्यको क्रममा गाइने गीतमा डाइन, जोगिनहरूलाई निकै अपशब्द प्रयोग गर्दै गाली गर्ने गरिन्छ। ती गालीहरूमा बोक्सी र गलत प्रवृत्तिका व्यक्तिहरूको शक्ति क्षय होस् त्यसका लागि प्रार्थना गर्ने गरिएको हुनाले यो जनविश्वासको नृत्य रहेको साहित्यकारहरू बताउँछन्। महिलाहरूले गाउने गीतमा आफ्ना सन्तानहरूले कसैले पनि नराम्रो नजरले हेर्न खोज्यो भने त्यसको प्रतिकार गरिने सन्देश दिइएको हुन्छ।
मिथिला क्षेत्रका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल झिझिया गीत र यसको नृत्य मनोरञ्जनात्मक रूपमा सामाजिक कुप्रथामाथिको व्यंग्यात्मक प्रहार गर्ने शैली रहेको बताउँछन्। भन्छन्, ‘यस नृत्यले नराम्रो शक्तिहरूको प्रतिवाद गर्ने सन्देश दिन्छ। अर्कोतर्फ समाजमा प्रचलित झिझिया गीतहरूले सामाजिक अन्धविश्वासलाई पनि प्रस्ट्याउँछ।’
कोठाके उपर डैनिया, खिडकी लगैले ना,
खिडकी ओत्ते डैनिया, गुनावा चलैलो ना।
आगे किछु होएतौ डैनिया, गदहा पर चढैवो
गदहा चढाए डैनिया नमुहाँ हसैबौ ना।।
यो झिझिया गीतमा बोक्सीलाई धम्काउने गरिएको छ। यसमा भनिएअनुसार यदि, बोक्सीले झ्याल पछाडिबाट टुनामुना गरी जादु चलायो भने उसलाई गधामाथि चढाएर गाउँमा घुमाउने र नाम बदनाम गराउने अर्थ छ।
एकातर्फ झिझिया गीत आधुनिक रूपमा समेत प्रचलित हुन थालेको छ। अर्कोतर्फ यसलाई फरक रूपमा प्रस्तुत गरेर वर्तमान परिपे्रक्ष्यमा केही व्यक्तिहरूले मागी खाने भाँडो बनाएको त्रिभुवन विश्वविद्यालयको मैथिली विभागका पूर्वप्रमुख परमेश्वर कापडी बताउँछन्।
कापडी भन्छन्, ‘झिझिया नकारात्मक शक्तिलाई तान्त्रिक विधिबाट निस्तेज गर्नका लागि र आफ्नो सखा सन्तान तथा समाजको रक्षाका लागि महिलाहरूले गाउँको भैरव, डिहबार र भगवतीलाई साक्षी मानेर नृत्यमय जागरण हो। तर, अहिले अश्लील रूपमा गीतहरू गाउँदै यसलाई फेसन बनाएर संस्कृतिको गलत पहिचान प्रस्तुत गर्ने काम भएको छ।’
तन्त्र शास्त्र र मन्त्र विज्ञान हुने कापडी तर्क गर्छन्। भन्छन्, ‘तन्त्रमन्त्र दुवै साँचो कुरा हुन्। यो तप र सिद्धिको प्रतिफल हुन्छ। कडा तपस्यापछि तप सिद्धि हुँदा जागृत भएर फल दिन्छ।
दसैंको बेला सकारात्मक र नकारात्मक दैवी शक्ति प्राकृतिक रूपमा जागृत हुन्छ। यसमा नकारात्मक शक्तिले बढी प्रभाव पार्ने हुन्छन्। उनीहरू आक्रामक हुन्छन्। झिझिया नृत्यका माध्यमले त्यस्ता असुरी शक्तिहरूलाई निस्तेज गर्ने उद्देश्य लिई यो धार्मिक अनुष्ठान गर्ने गरिन्छ।’