सर्लाहीको चुरे क्षेत्रमा खानेपानीको हाहाकार

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
सुक्खा मौषमसंगै सर्लाहीको चुरे क्षेत्रका बस्तीहरुमा खानेपानीको हाहाकार देखिन थालेको छ ।

हिजोआज चुरेपाखाका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन् । खडेरी लाग्ने केही महिना जिल्लाको चुरेक्षेत्रमा पर्ने भालुखोप‚ केराबारी, बेलडाँडा, विलन्दी, कौवा, दापडाँडा, कालिन्जोर, गुईडुङ, परवानीपुर, नारायणखोला, अत्रौली लगायतका क्षेत्रमा बर्सेनि खानेपानीको अभाब झेल्नु परीरहेको छ।
बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरुमा खानेपानीका स्रोतहरु चाँडो सुक्न थालेका जानकारहरु बताउँछन् । चुरेक्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौं उकालीओराली गर्न बाध्य छन् ।

गाउँका ४०÷४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई÷चार घरलाई समेत नपुग्ने अवस्था रहेको हरिवन नगरपालिका–१, केराबारीकी रश्मिला जिम्बाले गुनासो गरिन् ।

उनका अनुसार गाउँका अधिकांशले अहिले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छन् । दूषित पानी पिउँदा स्थानीय वासिन्दा बर्सेनि झाडापखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका जिम्बाले बताईन् ।

झखानेपानी आउँदा बाजागाजा सहित खसी काटेर भोज गरेका गाउँले अहिले फेरि खानेपानी लिन घण्टौं उकाली ओराली गर्नुपर्ने पूरानै कष्टपूर्ण दैनिकीमा फर्कन बाध्य भएका छन् ।ञ
पालिकाहरुले बच्चालाई तत्काल फकाउन ललिपप दिएजस्तै गरि अस्थायी ढंगले खानेपानीको लागि बनाईएका संरचनाहरु भत्केर काम नलाग्ने भएका छन् । लिटिङ मार्फत तलको पानी चुरे डाँडामा बसोबासरत बासिन्दाका लागि खानेपानीको व्यबस्था मिलाईए पनि केही समयपछि नै त्यस्ता संरचनाहरुले काम गर्न छाडेका छन् । खानेपानी आउँदा बाजागाजा सहित खसी काटेर भोज गरेका गाउँले अहिले फेरि खानेपानी लिन घण्टौं उकाली ओराली गर्न बाध्य भएका छन् ।

लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुनदेखि दुई÷तीन महिना खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरेका छन् । वन क्षेत्रमा डढेलो लाग्न थालेसँगै चुरेभेगमा खानेपानीको अभाव थप बढेको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिनले बताए । चुरेभेगमा घरहरु छरिएर रहेका कारण खानेपानीको सुविधा पुर्याउन निकै कठिनाई भइरहेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए ।