टाइफाइडबाट कसरी जोगिने?

[sharethis-inline-buttons]

काठमाण्डौँ-

टाइफाइड भनेको सालमोनेला टाइफी र प्याराटाइफी भन्ने ब्याक्टेरियाको संक्रमणले हुने एक प्रकारको रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट हुने गर्दछ। जुनसुकै उमेरका व्यक्तिलाई लाग्ने भएतापनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै संक्रमण हुने गरेको पाइएको छ।

ग्लोबल बर्डेन अफ डिजिज (जीबीडी) ले सन् २०१९ मा गरेको अध्ययन अनुसार विश्वभरी करिब ९० लाख जति संक्रमित भएका थिए। करिब १ लाख १० हजार जनाले ज्यान गुमाएका थिए। त्यस्तै नेपालमा ८२ हजार ४४९ संक्रमित भएका थिए। जसमध्ये १५ वर्ष मुनिका बच्चाहरु मात्रै ६० प्रतिशत थिए भने ९१९ जनाको मृत्यु भएको थियो। जसमा ६४ प्रतिशत १५ वर्ष मुनिका बालबालिका थिए।

जथाभावी बिना परीक्षण एन्टीबायोटिक खाने हुँदा, सबै स्वास्थ्य संस्थामा ब्लड कल्चरको व्यवस्था नहुने र कतिपयलाई बिना लक्षण देखिने हुँदा पनि वास्तविक तथ्यांक अझै बढी हुन सक्छ। विश्व चर्चित जर्नल ल्यानसेटले सन् २०२१ मा प्रकाशित गरेको आर्टिकल अनुसार काठमाडौंमा मात्रै प्रत्येक १ लाख मानिसमा १ हजार ६२ जनालाई टाइफाइड भएको पाइएको छ।