राजदूत नियुक्ति : भारत र चीन दुवै उल्झनमा

[sharethis-inline-buttons]

काठमाडौँ —

भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्माको एग्रिमो ३ महिना बितिसक्दा पनि नआएको अवस्था र चीनका लागि ७ महिनादेखि राजदूत रिक्त रहेको अवस्थामाझ ‘समानता’ एउटै कुरामा देखिन्छ— आन्तरिक राजनीतिक गन्जागोल र क्षेत्रीय भूराजनीति । ‘राजनीतिक गन्जागोल यस अर्थमा आफ्नो भागमा परेको दाबी गरिरहेको माओवादी केन्द्रले सर्वसम्मत राजदूतको नाम प्रस्ताव गर्नै सकेको छैन भने भारतमा प्रस्तावित राजदूत शर्माको ९० दिन बितिसक्दा पनि दिल्लीबाट एग्रिमो आउन नसक्नु भनेको एकदमै असहज र अनौठो स्थिति हो,’

परराष्ट्र मन्त्रालयका एक पूर्वसचिवले कान्तिपुरसँग भने, ‘अब प्रस्तावित राजदूत शर्माको दिल्लीबाट एग्रिमो आइगएपनि ‘अनिच्छापूवर्क स्वागत’ (अनविलिङ्गली वेलकम) गरेको जस्तो ठहर हुनेछ ।’ जबकि भारतले नेपालका लागि राजदूत प्रस्तावित गरेर नाम पठाउँदा बढीमा एक सातामै नामको एग्रिमोमा सहमति जनाएर जवाफ दिने गरेको पृष्ठभूमि छ ।

प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार, अमेरिकाका लागि पूर्वराजदूत रहिसकेका र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शर्माको नाम भारतका लागि प्रस्तावित गर्नुअघि विभिन्न अनौपचारिक तहमा यसबारे ‘बुझबुझारथ’ गरिएको थियो । यसमा सकारात्मक संकेत पाएरै शर्माको नाम प्रस्तावित गरिएको भएपनि उनले अमेरिकी परियोजना एमसीसीबारे तथा भारतीय नाकाबन्दीताका राखेको धारणालाई पनि दिल्लीले ‘ध्यान’मा लिएको हुन सक्ने बुझाइ यथावत छ । शर्माका आफन्तजनले चिनियाँ परियोजना बीआरआइमा राखेको सदासयताको ‘भौगोलिक रणनीति’ माझ उनको नाम चेपुवामा परेको हुन सक्ने परराष्ट्रभित्रैका एक सहसचिवले बताए । कान्तिपुर