आज मिर्गौला दिवस मनाइदै

[sharethis-inline-buttons]

हरेक मार्चको दोस्रो बिहीबार मिर्गौला दिवस मनाइन्छ । प्रत्येक १० मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्छ । विश्वभरि नै यो रोगका पीडित बढिरहेकाले यसको पहिचान, उपचार तथा रोकथामका उपायबारे सचेत गराउने उद्देश्यले नेपालमा बर्सेनि ३,००० व्यक्तिका मिर्गौला फेल हुने गरेको र तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गरेको तथ्यांक छ ।

सुरुमै रोग पत्ता लगाउन सके उपचार समयमै हुन सक्छ, जसबाट स्वास्थ्य तथा आर्थिक क्षति कम गर्न र जीवनै जोगाउन पनि सकिन्छ । विश्व मिर्गौला दिवस तदर्थ समितिले अरूका मिर्गौलाबारे मात्रै नभई आफ्नै मिर्गौलाको अवस्थाबारे पनि जानकार हुन आह्वान गरेको छ ।चिकित्सक, वैज्ञानिक तथा स्वास्थ्य नीतिविज्ञहरूको संयुक्त प्रयास र सुझावबाट सरकारलाई मिर्गौला समस्यासम्बन्धी ध्यानाकर्षण गराएर ठोस नीति निर्माण र कार्यान्वयनमा जोड दिन सके मिर्गौलाका बिरामी र उनीहरूको उपयुक्त उपचारमा सघाउ पुग्न सक्छ ।

त्यस्तै, प्राथमिक तहका स्वास्थ्यकर्मीहरूलाई मिर्गौला रोग सम्बन्धी जानकारी, उपचार, रोगथामका उपाय र अंगदान तथा प्रत्यारोपणसम्बन्धी आवश्यक तालिम दिनुपर्छ । मिर्गौला मात्र नभै कुनै पनि अंग फेल हुँदा प्रत्यारोपण सर्वोत्तम उपचार हो । नेपालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ पछि नाता पर्ने प्रायः सबैले अंगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस ऐनमा दुई वा दुईभन्दा बढी परिवारमा अंग साटासाट गर्न सकिने व्यवस्था पनि छ ।

त्यस अनुसार, यदि एक परिवारमा कसैको अंग फेल भएको छ र अंगदाता पनि छ तर प्राविधिक कारणवश ‘क्रसम्याच’ नमिलेमा त्यस्तो व्यक्तिका लागि त्यस्तै अवस्थामा रहेको अर्को परिवारको सदस्यबाट आपसी समझदारीमा अंग साटासाट गरेर पनि प्रत्यारोपण गर्न सकिन्छ । पश्चिमा मुलुकहरूमा यस किसिमको समझदारीबाट दुई वा दुईभन्दा बढी परिवारबीच अंग साटासाट गरी प्रत्यारोपण गर्ने क्रम बढ्दो छ ।